Monday, September 19, 2016

गैँडाकोटका उद्योगमा पौने दुई करोड बक्यौता




श्रीधर उपाध्याय

गैँडाकोट, २८ भदौ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखाले पुराना उद्योगबाट पौने २ करोड रुपैँया उठाउन बाँकी रहेको जनाएको छ । शाखा प्रमुख बलराम थापाका अनुसार नयाँ ग्राहकको बक्यौता रकम ठूलो नभएपनि पुरानै बक्यौता उठाउन बाँकी रहेको हो । थापाले भने “फोनबाट, सूचनाबाट बारम्बार ताकेता गरेपछि साना ग्राहकको बक्यौता रकम उठ्ने गरेको छ, यो ठूलो समस्या पनि छैन, २०–३० हजार बक्यौता भएका ५०–६० जनामात्रै ग्राहकहरु रहेका छन् ।” ग्राहक, उद्योग, व्यापारिक संस्थाबाट गैँडाकोटमा एकलाख भन्दा बढी बक्यौता  रहेको छैन् । पुरानो बक्यौताको रुपमा भृकुटी कागज कारखान, नोवानेट, सिल्भर फाइबर, एनपी टेक्सटाइल लगायतका पुराना उद्योगका बक्यौता रकम गरी करिब पौने दुई करोड उठाउन बाँकी रहेको छ । विद्युत प्राधिकरण कावासोतीका अनुसार भृकुटी कागज कारखानको मात्रै करिब  एक करोड बक्यौता रहेको छ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रमुख थापा भन्छन् – “यी सबै चारपाँच वर्षअघिका उद्योगका बक्यौता हुन् । बक्यौताका कागजपत्र कावासोती पठाइससकिएको छ । यसको काम माथिबाटै भैरहेको छ । पुराना उद्योगहरुको लाइन काटिसकेका छौँ ।” गैँडाकोट क्षेत्रमा थोरै रकम भएका बेलामा नै लाइन काटिदिन ग्राहकहरुले आफैले अनुरोध समेत गर्ने गरेको थापाले बताए  । गँैडाकोट १ देखि ९ थुम्सीसम्म गैँडाकोट शाखाको कार्य क्षेत्र सानो रहेको छ । यस क्षेत्रमा करिब साढे सातहजार ग्राहक रहेका छन् । 



सरकारी कार्यालयको पौने ३१ लाख बक्यौता 
श्रीधर उपाध्याय
गैँडाकोट, २८ भदौ । नेपाल विद्युत प्राधिकरणले ७ दिने सूचना निकालि बक्यौता रकम तिर्न आग्रह गर्दा समेत अटेरी गरेपछि देशभर लाईन काट्न शुरु गरेको छ । नेपाल विद्युत प्राधिकरण कावसोती वितरण केन्द्रका प्रमुख उमेश प्रसाद यादवका अनुसार अहिले सरकारी कार्यालयहरुको बिद्युत काटिएको छ । यस वितरण केन्द्रले  १ करोड ७७ लाख बक्यौता असुल गर्न बाँकी रहेको छ । जस मध्ये सरकारी कार्यालयहरुको मात्र ३० लाख ७२ हजार रुपैयाँ तिर्न बाँकी रहेको कावासोती प्राधिकरण शाखाका कर्मचारी सुरेश पण्डितले बताए । कावासोती शाखामा भदौ २४ गते सम्मको तथ्यांकका अनुसार सरकारी कार्यालयबाट तीन लाख ६८ हजार चार सय ९३ रुपैँया बक्यौता उठिसकेको छ । बक्यौता नतिर्ने सूचिमा २६ वटा सरकारी कार्यालयहरु रहेका छन् । एक लाख भन्दा बढि बक्यौता रहेका पाँच सरकारी कार्यालय रहेका छन् । इलाका बन कार्यालयको ४ लाख ३८ हजार, पितौँजी हेल्थपोष्टको ४ लाख ३३ हजार, प्राथमिक स्वास्थ्य केन्द्र चोरमाराको १ लाख ८८ हजार, दुम्किबास हेल्थपोष्टको २ लाख ७४ हजार, नवलपुर हेल्थपोष्ट कोल्हुवाको ३ लाख ४५ हजार बक्यौता बाँकी रहेको छ । यसैबीच प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीले १ लाख १० हजार बक्यौता तिरेको छ भने उसको अझै १ लाख २५ हजार बक्यौता बाँकी रहेको नेपाल विद्युत प्राधिकरण कावासोती केन्द्रले जनाएको छ । कृषि सेवा केन्द्र, मालपोत कार्यालय कावासोती, देवचुली गाविस, पशु स्वास्थ्य सेवा केन्द्र, कुमारवर्ती गाविस, नन्दभाउजु उपभोक्ता समिति, इलाका वन कार्यालय, तमासपुर रेन्जपोष्ट, रानीटार रेन्जपोस्ट, अरुणखोला सेक्टर वन, वरचुली मावि फारम, दुर्गा निमावि, कुमारवर्ती स्वास्थ्य चौकी,राष्ट्रिय थारु संग्रालय, नमुना मध्यवर्ती सामुदायिक वन र नारायणी उपस्वास्थ्य चौकी लगायतका स्वास्थ्य संस्था, वन तथा सरकारी कार्यालयले बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत प्राधिकरण केन्द्र कावासोतीले जनाएको छ । 

कम भोल्टेज भएकै हो – गैँडाकोट विद्युत प्राधिकरण प्रमुख थापा

गँैडाकोट क्षेत्रमा केही समय यता विद्युत प्रसारणमा समस्या देखिएको छ । कम भोल्टेजको लाइन आउँदा सर्वसाधारणलाई दैनिक उपभोग्य मेसीनरी सञ्चालन र उद्योगका मेसीनरी सञ्चालनमा समस्या हुने गरेको छ । यसै सन्दर्भमा नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखाका प्रमुख बलराम थापासँग श्रीधर उपाध्यायले गर्नुभएको कुराकानी 

गैँडाकोटमा पछिल्लो समय कम भोल्टेजको लाइन किन आएको ?

अहिले यो समस्या हामी कहाँ पनि आयो । अफिसमा पनि आयो । हामीले त्यस सम्बन्धमा प्रगतिनगर सब स्टेशन जुन १३२ केवी छ त्यहाँ पनि सोध्यौँ ।कति केवी लाइन आइरहेको छ ? त्यसपछि भेडाबारीमा सोध्यौँ ११ हजार लाइन कति आइरहेको छ ? त्यहाँ अलिअलि कम आएको भन्ने प्राविधिकले जानकारी दिए । गँैडाकोटमा धेरै गर्मी र बढ्दो आवादीका कारण पनि यस्तो समस्या भएको हो । ठाँउ ठाँउमा ट्रान्सफर्मर पनि राख्नुपर्ने छ । यसका लागि पत्र पठाएका छाँै । कम भोल्टेज भएको चाँहि हो । जहाँ घनत्व बढी छ त्यहाँ भोल्टेज कम भएको हो । अब यसको समाधानका लागि ठाँउठाँउमा ट्रान्सफर्मर राख्नुपर्ने छ । ठाँउअनुसार क्षमता बढाउने र घटाउने काम गर्नु पर्ने भएको छ ?  सिँचाइको बढी चाप रहेको गैरीमा आवश्यक छ, काँग्रेस चोकमा आवश्यक छ, विजयनगरमा आवश्यक देखिएको छ, गण्डकी रोल, खत्रीपिल्ड लगायत नौ वटै वडामा आवश्यक छ । अहिले ३५ जति ट्रान्सफर्मर छन् । 

सामान्य हावाहुरी लाग्ला फ्याट किन बत्ति जान्छ ?

यो के हो भने रुखले छोएर पनि हुन्छ, कहिले काँही अल नेपाल जाने पनि हुन्छ, कहिले काँही साना फल्ट हुन्छ , सिष्टमहो कहिले काँही जान्छ । हामीले रुखले हो की भनेर रुख काट्ने काम पनि गरीरहेका छाँै । 

कार्यालयमा किन फोन उठ्दैन ?

यो समस्या के हो भने । कर्मचारीको कमीले पनि हो । कार्यलय समयमा म आफै उठाउँछु । प्रविधिक सबै गरेर ५ – ६ जना छाँै । सबै कामका लागि फिल्ड मा जान्छन । फोन उठाउने व्यक्ति राखिएको छैन । यसको लागि पनि पहल भइरहेको छ । 

फोन उठाएर व्यस्त बनाएर राखिन्छ रे  नी हो ?

होइन, यो कुरामा मलाई विश्वास छैन् । यस्तो हुनै सक्दैन मलाइ त्यस्तो लाग्छ । कहिले काँही संयोग वश त्यस्तो भयो होला । 




No comments:

Post a Comment

Gaindakot 1 balmaitri