Monday, January 9, 2017

नारायणी माविमा फेरी जग्गाको विवाद ( के थियो सहमति ? हेर्नुहोस )




श्रीधर उपाध्याय /सरु चापागाईं
गैँडाकोट । जग्गाको विवादका बीच नारायणी मावि गैँडाकोट ७ मा  विद्यालय कम्पाउन्ड तथा प्रवेशद्वार शिलन्यास समारोह सम्पन्न भएको छ । नारायणी माविको उत्तर तर्फ गेट अगाडीको जग्गा लामो समयदेखी विवादित बन्दै आएको छ । विवाद पटक पटक बल्झने र सहमतिमा सल्टने गरेको छ । अहिले कम्पाउन्ड निर्माणको प्रक्रिया अघि बढेपछि विवाद फेरी सतहमा आएको छ । 
गैँडाकोट ७ ग कित्ता नम्बर २० को उक्त जग्गामा १३ बाई ९ को घर बनाइ करिब २ दशक यता होमनाथ सापकोटाको परिवार बस्दै आएको छ । विद्यालयको संरक्षणका लागि उक्त परिवारलाई विद्यालयले नै उक्त स्थानमा बस्ने अनुमति दिदै आएको विद्यालयको भनाई छ । विद्यालयका अनुसार उक्त जग्गामा बनेको घर आधा भाग पूर्वपश्चिम राजमार्गको सडकमा पर्ने र आधा भाग विद्यालयमा पर्ने विद्यालयको दाबी छ । अहिले कम्पाउन्ड निर्माणमा सापकोटा परिवारको तर्फबाट अवरोध आएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेले बताए । पाण्डेले छलफल भइरहेको र छिट्टै सहमतिमा पुगिने समेत बताएका छन् । छलफल सकरात्मक रहेको र सापकोटा परिवारले पनि सकरात्मक रुपमा लिएको अध्यक्ष पाण्डेले  बताए । 

वि सं. २०६६ साल मंसिर २३ गते जयश्री खोलाको पुल भत्किदा आफ्नो घर भत्किएपछि सो जग्गामा घर बनाएर बस्न र प्रति महिना ५० रुपैँयाका दरले भाडा तिर्ने गरी गैँडाकोट वाड नं. का मेघनाथ सापकोटाका छोरा होमनाथ सापकोटाले विद्यालयलाई निवेदन दिएका थिए । सो निवेदनमा विद्यालयलाई आवश्यक परेको खण्डमा एक महिना पहिला सूचित गर्नुपर्ने उल्लेख गरिएको थियो । यस्तै निवेदनमा वि सं. २०५५ सालदेखि मेघनाथ सापकोटाले बनाएको घरका विषयमा सरकारले व्यवस्था नगरेसम्म बस्न पाउँ भनि उल्लेख गरिएको विद्यालयका अध्यक्ष पाण्डेले बताए । 


सापकोटाले विद्यालय समक्ष राखेको निवेदन उपर सोही वर्ष मंसिर २४ गते सापकोटालाई भाडामा बस्न दिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो । तत्कालिन विद्यालय समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयमा निवेदन उपर घर बनाउन दिने, विद्यालयलाई आवश्यक परेको खण्डमा २१ दिन पहिले विद्यालयले हट्न आग्रह गर्ने र सो उपर हट्नु पर्ने उल्लेख गरिएको विद्यालयको भनाइ छ । यही निर्णयलाई आधार मानेर होमनाथ सापकोटाले मासिक रुपमा भाडा तिरेको विद्यालयले जनाएको छ । 


अहिले विद्यालयको पर्खाल निर्माण सम्बन्धमा वि सं. २०७३ पौष ८ गते विद्यालय व्यवस्थापन समिति, अभिभावक एवं समाजसेवीहरुको उपस्थितिमा बसेको बैठकले २०६६ मंसिर २४ गतेको निर्णयलाई कायम राख्दै हाललाई पूर्व तर्फको बाटो राजमार्गबाट साढे ४ मिटर छोडी साँधमा पर्खाल लगाउने निर्णय गरेको छ । 

बाबु मेघनाथ सापकोटा र छोरा होमनाथ सापकोटाले भने सरकारले कुनै व्यवस्था नगरेसम्म आफूहरु डिक नचल्ने बताएका छन् । सरकारले व्यवस्था गरेको दिनमा अवरोध नहुने समेत उनीहरुको तर्क छ । होमनाथ सापकोटाले विजय खबरपत्रिकासंग भने “स्कूलले जवर्जस्ती हडप गर्छ भने, अन्यत्र भएका विद्यालय, मठमन्दिरमा भएकालाई पनि हटाए हुन्छ नी हामी सोझालाई मात्र किन दबाब दिने ”
यता आइतबार विद्यालयको कम्पाउन्ड तथा प्रवेशद्वार शिलन्यास समारोहमा सहभागि हुन विद्यालयमा आइपुगेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले विद्यालयले आफ्नो काम स्वतःस्फूर्त रुपमा अघि बढाउन सुझाब दिएका छन् । रानाले भने “भाडामा बसेको मान्छेले घरै मेरो हो जस्तो व्यवहार गर्न कहाँ पाइयो र ? विद्यालयका लागि प्रशासनले आवश्यक सहयोग गर्नेछ ।”


Gaindakot 1 balmaitri