Tuesday, February 2, 2016

शिक्षकको काम पढाउने कि राजनीति गर्ने ?

पार्टीको झण्डा बोक्दै, गँैडाकोटमा ४ जना प्रधानाध्यापक

गैँडाकोट । एक महिनाअघि शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षकले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने बताएका थिए । उनले अनुगमन गरी पार्टीमा आवद्ध शिक्षकलाई कारवाही गरिनेसमेत चेतावनी दिएका थिए, तर एक महिना नबित्दै भर्खरै भएको नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गतको वडा, गाउँ तथा नगरअधिवेशनमा धेरै शिक्षकहरु निर्वाचित भएका छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुदेखि निजी विद्यालय तथा कलेजका शिक्षकसम्म कार्यकारी पदमा निर्वाचित भएका छन् । राजनीतिक दलको कार्यकारी पदमा निर्वाचित भएका शिक्षकहरुले कसरी पढाउलान् ? यसले शिक्षकको काम पढाउने कि राजनीति गर्ने भन्ने प्रश्न उठाएको छ ।
गैँडाकोट १ मा रहेको नेपाल राष्ट्रिय शमसेर आदर्श माविका प्रधानाध्यापक इन्द्रराज भट्टराई वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि भट्टराईले फेसबुकमा स्टाटस राख्दै कायकर्तालाई बधाई नै दिए “ नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा गैंडाकोट १ बाट निर्वाचित हुन सहयोग गर्नुहुने सम्पूर्ण सदस्य साथीहरुमा आभार प्रकट गर्दछु” । 

उनको योजना क्षेत्र र जिल्लासम्म कार्यकारी पदमा पुग्ने छ । विद्यालयकै प्रधानाध्यापक यसरी राजनीतिक दलको  कार्यकारी पदमा निर्वाचित भएपछि उनले पार्टि चलाउन या विद्यालय ? उनी मात्र होइन उनकै विद्यालयका अर्का शिक्षक श्याम सुन्दर पराजुलीसमेत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यस्तै गैँडाकोट २ मा रहेको महेन्द्र स्मारक निमावि हाँकिरहेका प्रधानाध्यापक शिवराज काफ्ले गैँडाकोट वाड नं. १ को प्रमुख कार्यकारी पद वडा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि काफ्ले पनि फेसबुकमा स्टाटस लेख्दै कार्यकर्तालाई बधाई दिए “ आइ वाण्ट थ्याङ्कस अल माइ गैँडाकोट वान फ्रेण्ड्स हु भोट मि” । 

यस्तै गैँडाकोट ७ मा रहेको नारायणी माविका प्रधानाध्यापक नारायण पौडेल पनि काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए । उनले पनि आफु माध्यामिक विद्यालयको प्रधानाध्यापक भएको विर्सिएका छन् । यस्तै अमरापुरीमा रहेको पञ्चज्योती निमाविका प्रधानाध्यापक रामप्रकाश सिग्देललाई पनि काँग्रेसको महाधिवेशनले छोडेन । सिग्देल पनि गँैडाकोट १५ बाट नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको लागि क्षेत्रीय प्रतिनिधिका लागि चयन भएका छन् ।
गैँडाकोटमा यी चार प्राचार्य मात्र होइन विद्यालय तथा कलेजमा अध्यापनरत शिक्षकहरु विभिन्न पदमा निर्वाचित भएका छन् ।  नगरसचिवमा निर्वाचित भएका मुकुन्द पौडेल, नगरसदस्यमा निर्वाचित तिर्थराज रिमाल पनि कार्यरत शिक्षक हुन् । पौडेल कलेज तहमा अध्यापन गर्छन् भने रिमाल सामुदायिक विद्यालयबाट सेवा निवृत्त भई निजी उच्च माविमा अध्यापनरत छन् । यस्तै गैँडाकोट ९ बाट क्षेत्रीय प्रतिनिधि खगराज सापकोटा र वडा नं. १ की महिला क्षेत्रिय प्रतिनिधि रमिला ढकाल पनि शैक्षिक संस्थामा आवद्ध रहेका छन् ।
यसरी विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकहरुले राजनीतिक दलको झण्डा बोक्ने कार्यले समाजमा गलत नजिर र नकरात्मक सन्देश गएको शिक्षाविद् हरुकोे तर्क छ । शिक्षकहरु पार्टीको कार्यकारी पदमा पुगेकोमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष केशव प्रसाद भट्टराई आफ्नो फेसबुकमा लेख्छन् “ शिक्षक साथीहरू गर्वका साथ कांग्रेसको निर्वाचनमा कुनै पदमा निर्वाचित भएको घोषणा गरेर फेसबुकमा समाचार हालिरहनु भएको छ । शिक्षक पदमा रहुञ्जेल कांग्रेसको सहयोगी, समर्थक र शुभेच्छुक हुन त हुन्छ, तर कुनै निर्वाचित् पदमै बसेर काम गर्न भने हुन्न भन्ने मेरो मान्यता हो ” । 

शनिबार सकिएको नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको निर्वाचनमा एक दर्जन भन्दा बढि शिक्षकहरु कार्यकारी पदमा निर्वाचित भएका छन् । चुनावमा उम्मेद्वारी दिएका मध्ये करिब दुई दर्जन शिक्षक रहेका थिए । शिक्षकहरु नगरसचिवदेखि वडा सभापति, नगर सदस्य र क्षेत्रीय प्रतिनिधिसम्म रहेका थिए । करिब आधा महिना चुनावी प्रचारमा विताएका ती शिक्षकहरु क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र केन्द्रीय अधिवेशनसम्म विद्यालयमा अनुपस्थित हुने निश्चित छ  । निर्वाचित भैसकेपछि पार्टीका आन्तरिक बैठकदेखि विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा कति अनुपस्थित होलान् ? यसले विद्यार्थीको पठनपाठनलाई कति असर पार्ला ? भन्ने तर्फ शिक्षा कार्यालयले कुनै ध्यान दिएको छैन । 

नवलपरासीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले भने यस विषयमा आफूले केही भन्न नसक्ने बताए । उनले नीति नियम बनि नसकेको र देशभरिनै शिक्षकहरु राजनीतिमा सक्रिय रहने परिपाटि रहेकाले यो केन्द्रीय समस्या रहेको बताए । शिक्षकहरु राजनीतिक दलको कार्यकारी पदमा सहभागि हुने यस समस्याको निवारणका लागि नेपाल सरकारले आवश्यक नीति नियम बनाउनु जरुरी रहेको पाण्डको भनाई छ ।
संशोधन प्रकृयामा रहेको शिक्षा ऐनमा शिक्षकको आचरण अन्र्तगत दलको सदस्य हुन नपाईने ब्यवस्था गरिएको छ । उक्त ब्यवस्था हटाउन शिक्षक महासंघले लविङ् गरिरहेको छ ।


Gaindakot 1 balmaitri