Monday, March 16, 2015

मति सरको आँखामा मेरो विवाह.....................

कुनै शब्द छैन मति सरले देखाउनुभएको आत्मियताको लागि......... सरको विद्धता र नम्रताको म सधैँ शिष्य रहन पाउँ ।

 

 

 

 "यसरी नै मुस्कुराइरहोस् सबैको नवदाम्पत्य जीवन"

आज २०७१ फागुन २९ गते मेरा छिमेकी नारायणप्रसाद उपाध्यायका कनिष्ठ सुपुत्र श्रीधर उपाध्याय पौडेलको देवचुली नगरपालिका १ केउरेनी नवलपरासी निवासी शिवराज लम्सालकी सुपुत्री अम्बिका लम्सालका साथ सुसम्पन्न भएको शुभविवाहको सुखद अवसरमा उपस्थित भएर वरवधूलाई शुभाशिर्वाद प्रदान गर्न पाउँदा मलाई निकै सन्तोषको अनुभूति भयो ।

जागिरका क्रममा निकै वर्ष घरबाहिर नै रहनुपर्दा आफ्नै छिमेकी भाइ श्रीधर पौडेलसँग म नजिकिन पाएको थिइन । मलाई सामाजिक सञ्जालले नै उनीसँग बढ्ता नजिक्याएको हो । उनले मुरली बजाएको धुन नसुने पनि मुरली बजाउँदै गरेको उनको प्रोफाइल तस्बिर मलाई निकै मन पर्थ्यो । साहित्य, संगीत र कला नभएको मान्छे सिङ र पुच्छर नभएको पशुजस्तै हो भनेर मैले पढेको थिएँ । उनको संगीतमा बढ्ता रुचि रहेछ । उनले त्यतिबेला पत्रकारितामा स्नातकोत्तर गर्दै थिए । भानु जयन्तीका बेला एकपटक मैले गरेको अनुसन्धानलाई प्राथमिकता बनाएर समाचार सम्प्रेषण गर्दा र उनीसँगको छोटो सम्पर्कमा पनि उनको विनयशीलताबाट म निकै प्रभावित भएको थिएँ । उनका बुबा र दुवै दाजुहरूबाट पनि मैले विनयशीलताको पाठ सिक्तै आएको छु ।
आज प्रत्येक परिवारमा नैतिकता र अनुशासनका बाँधहरू भत्किँदै गएका छन् । प्रत्येक परिवारहरू विखण्डन हुँदै जाँदा हाम्रो समाज र देश नै विखण्डनको सँघारमा पुगेको छ । यस परिस्थितमा हामीले आफ्ना बालबच्चाहरूलाई नारायण उपाध्यायज्यूको परिवारले जस्तै सुसंस्कार दिँदै जानु नितान्त आवश्यक छ । शिक्षित हुँदैमा सबै मान्छे श्रीधर उपाध्यायको परिवार झैं सुसंस्कृत हुन सक्तैनन् । प्रत्येक परिवार सुसंस्कृत र सदाचारमा रहनसक्ने हो भने त्यसले पनि आफूजस्तै सुसंस्कृत र सदाचारमा हुर्केको वर वा वधूसँग सम्बन्ध गाँस्न सक्तछ । हजुरबुबाको विद्वत्परम्परालाई हुर्काउँदै गर्नुभएका युवा विद्वान् चक्रपाणि लम्सालकी बहिनी अम्बिका लम्सालमा पनि त्यस्तो विद्वत्परम्पराको संस्कार अवश्य पनि प्रवाहित भइरहेको हुनुपर्छ । महाभारतमा 'न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते' अर्थात् त्यो घर घर होइन जसमा गृहिणी छैनन् त्यसै भनिएको होइन । 'वरयेत् कुलजां प्राज्ञो विरूपामपि कन्यकाम्' अर्थात् विद्वान्ले राम्रो रूप नभएकी भए पनि कुलीन कन्यालाई वरण गर्नुपर्छ पनि भनिएको छ । प्राज्ञ कुलमा उत्पन्न भएकी सुरूपा कन्यालाई वरण गर्न पाउने सौभाग्य थोरैलाई मात्र प्राप्त हुन्छ । त्यस्तो सौभाग्य प्राप्त गर्ने र सदैव मुस्कुराइरहने भाइ श्रीधरलाई नवदाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना ! ! !

श्रीधर भाइको झैं सबैको नवदाम्पत्य जीवन यसरी नै मुस्कुराओस् र सदैव मुस्कुराइरहन सकोस् !



नेपाली समाजमा विवाहमा जुत्ता लुकाउने चलनको प्रारम्भ भएको धेरै भएको छैन । सामान्य रमाइलोका लागि यो प्रचलन अनुपयुक्त त हैन तर केही समययता यसले विकृतिको रूप लिँदै गएको छ । आजको विवाहमा पनि दुई जना साली नानीले जुत्ता लुकाएर फिर्ता दिनुपर्दा दुलाहाको एक दिनको तलबै माग्नेसम्मको ठट्टा त गरे तर पछि दुलाहाले खाममा राखेर केही दिनको तलब दिएर उनीहरूलाई सान्त्वना दिए । जे भए पनि दुलाहा पत्रकार भएकाले होला आज उनले विकृतिको रूप धारण गर्दै गरेको जु्त्ता लुकाउने चलनलाई सामान्य प्रचलनका रूपमा ग्रहण गर्न समाजलाई दिएको सन्देश सबैका लागि अनुकरणीय छ ।


दुलहाका साथमा दुलही पक्ष । दुलहीकी यी हजुरआमाको जोस र होस आजका युवाहरूका लागि निकै प्रेरणादायी छ । 

 

 द लस्ट प्याराडाइज रजहर नवलपरासीमा सम्पन्न भएको आजको विवाहमा आधुनिक भोजका अतिरिक्त फलफुलको र सुक्का रोटी सेल रोटी कसार फलफूल अचार र तरकारीसहितको सात्त्विक भोज पनि राखिएको थियो । जुन भोज मेरा लागि निकै स्वस्थकर रह्यो ।



श्रीधर भाइ र अम्बिका बहिनीको यो मुस्कुराहट लगनगाँठो सदैव यसरी नै कसिँदै जाओस् ।


Gaindakot 1 balmaitri