Wednesday, July 3, 2013

चिना हराएको मान्छे भित्र चिहाएर हेर्दा


     “घरमा चर्पी छैन, आची गर्न चाँहि मोटर साइकल लिएर कान्लातिर जान्छन् ।”


श्रीधर ‘समर्पण’

हाँस्य कलाकार हरिबंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पढि सक्दा मन विनोदी र भावुक दुवै हुँदोरहेछ । एउट हास्य कलाकारको आत्मकथा पढ्दा आँखाको डिलमा केहि आएर रसाएर बिझाउँथ्यो, शब्दहरु घाँटीमानै अड्कन्थे, श्वास ढिक्का बनेर फोक्सो तिरै जम्दथ्यो । हरिमिराको मायाको संसार साँच्चिकै अनुकणीय मात्र होइन हृदयविदारक पनि छ । चिनाहराएको मान्छेले मिराको सम्झनामा लेखिएको कविता अत्यन्त मायाले भरिएको छ

एउटा सुन्दर गाँउमा, बस्थे हरिमीरा
हरि यहिं छुटिगयो, तारा भइन मीरा



हरिबंशले हसाउन मात्र होइन रुन पनि जानेका रहेछन् भनेर त्यो चिना हराएको मान्छेले बतायो । सबैको साझा मान्छे चिना हराएको मान्छेले जीवनलाई कसरी पुलकित बनाइरहेको छ, चिना हराएको मान्छेले कसरी भाग्यका रेखाहरु कोर्यो होला ? परिश्रमलाई देबता मान्ने चिना हराएको मान्छे,  सबैका मान्छे हुनुमा कस्तो पिडा र कस्तो सुख भोग हुँदोरहेछ । यी सबैलाई चिना हराएको मान्छेले क्रमिक बताँउदो रहेछ । ‘चिनाहराएको मान्छे ’ हरिबंशको मात्र आत्मकथा होला तर उनका जीवनका यस्ता पाटाहरु उजागर भएका छन् जसले सबैका साझा समस्यालाई पनि चित्रण गरेको छ ।


समाजमा रहेको छोरा र छोरीको लैङ्गीक विभेदलाई पनि मीठो व्यङ्ग्य हरिबंशले आफ्नो जन्मलाईनै आधार बनाएका छन् । उनले लेखेका छन्—“सायद  मेरी आमाले आफ्नो जीन्दगी सार्थक भएको महसुस गर्नुभयो होला, मैले देश बनाउन सकें भनेर होइन, यति सम्पत्ति गरिबहरुलाई दान गर्न सकें भनेर पनि होइन, मात्र छोरा जन्माउन सकें भनेर ।”

समाजमा महिलाहरुका समस्या र महिलाहरुले बोक्नुपर्ने  अन्धबिश्वासका पहाडहरुको पनि खुलेर बिरोध गरेका छन् । समाजमा रहेको अनमेल विवाह देखि किशोरी उमेरमानै विधवा भएर बस्नुपर्ने तितो सामजिक यथार्थलाई पनि खुलेरै मुक्का हानेका छन् । आफ्नी १५ बर्षकी भाउजूको विधवा उमेरलाई देख्न नसकेर होला चिनाहराएको मान्छे फेरि बोल्छ “बरु सती जाँदा केही बेर पोल्छ तर एक्लो भएर बाँच्नुपर्दा आफ्नै इच्छा र उमेरले सधैँ भरि पोल्छ.................रङ्गीन जीवनलाई संस्कारका नाममा रङ्गहीन आवरणले छोपेर उराठ र सौन्दर्यहिन बनाइन्छ । उसको जीवनमा बाह्रै महिना कृत्रिम शिशिर आउँछ र हिँउ पर्छ उसलाई जीवनमा बाँच्न चाहिने तापक्रम मात्र दिइन्थ्यो हाँस्न चाहिने होइन” । यी वाक्यांश पढ्दै गर्दा म हिन्दी चलचित्र बाबुलको अमिताभ बच्चनलाई सम्झन्छु । अमिताभ बच्चनको ठाँउमा हरिबंश आचार्यलाई कल्पना गर्न पुग्दछु ।

चिना हराएको मान्छे नारीलाई धेरै माया गर्दछ । समाजमा नारीमाथी भएका विभिन्न कुरितिहरु र समस्याहरुको बारेमा निस्फिक्री बोल्छ । समाजमा हुने गरेको छोराछोरीको विभेद, विधवा प्रथा मात्र होइन उ अनमेल विवाहका सन्दर्भमा बाबुले गरेको कुरालाई पनि चोटीलो प्रहार गरेको छ चिना हराएको मान्छेले —“घरमा पालेका बाख्राका पाठालाई डोरीले तानेर बेच्न लैँजादा जसरी त्यो पाठो लुखुर लुखुर जान बाध्य हुन्छ, त्यसरी नै लगनगाँठोको डोरीले बाँधेर मान्छेका छोरीलाई पनि तानेर लैजान्थे । ”

नारीलाई असाध्यै माया गर्ने मान्छे, चिना हराएको मान्छेले आफ्नी आमालाई औधी माया गर्छ । आमाको सम्मानमा चिना हराएको मान्छेको माया, मन र कलम यसरी दौडीएको छ “नारीलाई प्रकृतिले दिएको सबैभन्दा ठूलो बरदान हो — ममता र सहनशीलता । मेरी आमा धरती हुनुभयो । हामी त्यही धरतीमा जन्म्यौँ, हुर्कियौँ, बढ्यौँ, फुल्यौं , फल्यौं । ”

मानिसलाई मात्र होइन, पशुलाई पनि दुख्छ, पशुको पनि मन हो र  उसको पनि जीवन हो भन्ने विचार राख्ने चिना हराएको मान्छे भित्रको पशुप्रेम यसरी लेखिएकोे  छ — “एक पटक राजमार्गमा राँगाभैंसी राखेर काठमाडौँतिर आइरहेको ट्रक दुर्घटनामा परेछ । घाइते ड्राइभर र खलासीलाई तुरुन्तै अस्पताल लगियो । घाइते राँगाभैँसी मरेर सिनो होला,मासु खेर जाला भनेर तिनीहरुलाई चाँहि रेटेर मासु काठमाडौंतिर बेच्न लगिएछ । घाइते मान्छेलाई अस्पताल तर घाइते पशुलाई मासुपसल, कस्तो बिडम्बना ।  ”

नेपालभित्रको गरिबी र बर्गीयतालाई दुई किसीमले बिश्लेषण गरेको छ चिनाहराएको मान्छेले उसले भन्छ “नेपालमा कुकुर दुइ बर्गका छन् — एउटा वर्गको कुकुरले विदेशबाट आयात गरेको खाना खाँदै एयर कण्डिसन भएको गाडीमा मालिक मालिक्नीको मुख चाट्दै हिंड्न पाउँछ भने अर्को बर्गको कुकुर गल्लीगल्लीमा भौंतारिद, लुतो कन्याउँदै सडकको पेटी पेटीमा बेवारिसे भएर भोक भोकै हिंड्ने गर्दछ ।”

जीवनमा गलत काम सबैबाट हुन्छ, सबैको जीबनमा हिलो हुन्छ, अँध्यारो आउँछ । तर फोहोरको दलदलमा फसेपनि सधैँभरि म फोहोरी छु भनेर बसिरहनु मुर्खता हो फोहोरको दलदलामा कमल भएर फूल्न सकिन्छ भने आममानिसलाई आत्मबिश्वास बढाउन सल्लाह दिने चिना हराएको मान्छे साँच्चिकै अनुकरणीय छ । उ बोल्छ व्यक्तिगत परिवर्तनको लागि आफ्नै जीबनको किस्सा सम्झेर —“फोहोर नै त मल हुन्छ । सायद म मलमा सप्रिएको मुला,फोहोरमा हुर्किएको रुख । फोहोर मेरो जरामा भएपनि काण्ड हाँगा र पातमा नहोस भन्ने कुरामा म सधैँ सचेत छु । मलको पौष्टिक तत्व लिएर फलेको आँपको स्वाद आँप जस्तै गुलियो हुन्छ । त्यहाँ मलको कुनै अवशेष हुँदैन ।”

संसारमा सबै भन्दा ठूलो कलम रहेछ भनेर चिना हराएको मान्छेले महसुस गर्दछ । चिनाहराएको मान्छे हरिबंशको भाग्य लेख्ने कलम नै रहेछ । उनले कलमको माध्यमबाट सर्बमान्य नेता, राष्ट्रपति, विभिन्न राजनेताहरुसंग, देशविदेश पुग्न सकेकोमा कलमलाई सवै श्रेय प्रदान गरेका छन् । कलमको महत्व नबुझेका राजनीतिज्ञलाई आचार्यले यसरी व्यङ्ग्य गरेका छन— उहाँहरुले पनि ‘बन्दुक भन्दा कलम ठूलो रहेछ । मान्छेको एउटै मात्र जात हुन्छ, त्यो जात भनेको मान्छे नै हो’ भनेर संविधान लेखिदिनुभएको भए कस्तो राम्रो हुन्थ्यो । चिना हराएको मान्छे राजनीतिज्ञ देखि निकै नै रुष्ट देखिन्छन । यो देशमा राजनितिज्ञ भनेका क्यारेमबोर्डका गोटी हुन यी सब आफै निर्णय गर्न सक्दैनन । यिनीहरु स्ट्राइकरको इसारामा र टर्चरमा आफूलाई सक्रिय र निष्कृय पार्ने गर्दछन भनेर आरोप पनि लगाएका छन् —“भारतको आँखामा नेपालका राजा, प्रधानमन्त्रीहरु अघोषित रुपमा भारतका मुख्यमन्त्री हुन् । उनिहरुको हैसियत भारतको कुनै एक प्रदेशको मुख्यमन्त्रीको जति पनि छैन । भारतको कुनै मुख्यमन्त्रीले दिल्ली हल्लाउन सक्छ तर नेपालको प्रधानमन्त्रीले भारतको स्वीकृतिबेगर काठमाडौँ पनि हल्लाउन पनि सक्तैन ।”

राजनीतिज्ञ असल भएको खण्डमा देशले सजिलै बिकास गर्नसक्ने विश्वास पटक पटक व्यक्त गर्ने चिनाहराएको मान्छेले राजनीतिज्ञ प्रतिको आफ्नो असन्तोषलाई घरि  घरि कडा शब्दमा प्रकट गर्दछ —“राष्ट्र बैँकलाई सिरानी हालेर अर्थमन्त्रालयको सिरक ओडेर,गृह मन्त्रालयलाई पाले राखेर सत्ताको भाले भइ सुत्न पाए पछि मृग,चित्तल,हरिण खाएर हग्न पाएपछि, देशी बिदेशी रक्सी खाएर मुत्न पाएपछि को सत्ताबाट ओर्लन चाहन्छ ?” ।

सत्ता प्राप्तीको लागि क्षणिक फाइदाको लागि जातियताको प्रश्न उठाएर नेपाली जनतालाई लडाएर स्वार्थ लिन खोज्ने राजनीतिज्ञ तथा केहि स्वार्थ बोकेका जनताको झुण्डलाई चिना हराएको मान्छेले यसरी चोटिलो प्रहार गर्दछ —“जाडो भएकोले मुतको न्यानोमा निँदाउछु भनेर एउटा मान्छेले ओछ्यानमा मुतेछ । क्षणिकका लागि त तातो भएछ तर केही बेर पछि मुतले ओछ्यान ढाडिएर हिलो भएपछि सुत्नै सकेन । पछि त्यहि मुतले उसलाई जाडो बनायो ।” तसर्थ हाम्रा नेताहरुले बेलैमा सचेत बन्न चिना हराएको मान्छेले बारम्बार आग्रह गर्दछ ।
नेपालीहरु सुख र सुबिधामूखी बन्दै गइरहेको तर परिश्रम र मिहेनतको बाटो त्याग्दै गइरहेकोले यसले भोलीको दिनमा राज्यलाई ठूलो क्षति हुन सक्ने सम्भावनालाई उजागर गरेका छन् । नेपाली युवाहरुको ‘स्वादे जीब्रो अल्छे तिघ्रो’ सबै भन्दा बढि महङ्गो साबित हुने उनको जीकीर छ । आफ्नो हैसियत र क्षमतालाई बिर्सने नेपाली युबाहरुलाई चिना हराएको मान्छेले तीक्ष्ण व्यङग्य प्रहार यसरी गरेका छन् —“घरमा चर्पी छैन, आची गर्न चाँहि मोटर साइकल लिएर कान्लातिर जान्छन् ।”

नेपाली हाँस्यव्यङ्ग्यका सम्राट हरिबंश आचार्यले जीबनमा पर्दामा त धेरैलाई हँसाएका छन् साथ साथै पर्दा पछाडिको नितान्त आफ्नो जीवनमा धेरै रोएको र आफुलाई खुसिले भन्दापनि आँशुले जीतेको चिनाहराएको मान्छेले अवगत गराएको छ । उनले भनेका छन् —“मान्छेको हेराइमा म हँसाउने मान्छे हुँ । सोच्लान, यो संग त हाँसोको खानी छ, यो त रुँदै रुँदैन । तर म जन्मना साथ धेरै रोएको थिँए । चिच्याइ चिच्याइ रोएको थिँए । त्यसैले म संग भएको हाँसोलाई आँशुले नराम्रो संग जितेको छ ।” साथ साथै चिनाहराएको मान्छेको बिचारमा मान्छे जन्मदै रुने भएकोले हाँसो भन्दा आँशु जेठो मान्दछन् ।

चिनाहराएको मान्छेले सबै भन्दा बढी माया आफ्नी मिरालाई गर्यो त्यसपछि आफ्ना दर्शकलाई गरेको छ । गहिरो मायामा सबैभन्दा बढि भर र सबै भन्दा बढी डर दुवै हँदो रहेछ भन्ने चिना हराएको मान्छेले माया र मन बिचको भिन्नतालाई यसरी बुझेका छन् “हरेक मान्छेको मनमा मायाको पनि कारखाना छ र घृणाको पनि । ईष्र्या, द्वेष, लोभको पनि कारखाना छ, जुन असिमित उत्पादन पनि हुन सक्छ । केवल हृदयमा भएको मायाको कारखाना सञ्चालन गर्ने कि घृणाको कारखाना, त्यो आफ्नो सोचाइमा भर पर्दछ ।”

चिना हराएको मान्छे का अुनुभूतिहरु जीवनहरुको धेरै सकारात्मक बाटाहरु छन् । जुन हामीले अबलम्बन गरेर परिवर्तन र सफलताको गोरेटेहरुमा एक पाइला सार्न सहायक सिद्ध हुन सक्छ ।
                                                                                                                           samarpan100@gmail.com
you can also  read this article on http://www.kchhanepal.com/

No comments:

Post a Comment

Gaindakot 1 balmaitri