Tuesday, March 18, 2014

आइटम गीत

चलचित्र,  विज्ञापनमा महिलाको सेक्स अपिल लाई मुख्य खुराकको रुपमा किन बनाइन्छ ?  

बारमा हुने डान्स शैलीलाई चलचित्रमा पस्कनु कत्तिको उचित हो या होइन ?

‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी”

आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ?

samarpan

आफ्नी पाँच छ बर्षकी छोरीले घरको बैठक कोठामा होस वा सात आठ बर्षकी छोरी बोर्डिङ स्कूलको फंकसनमा  ‘शिलाकी जवानी, आइ एम टू सेक्सी फर यू, मे तेरे हाथ ना आनी” गीतमा नाच्दा अभिभावक ताली मारेर मुस्कुराइरहेको  हुन्छ । गीत त भयो भयो नृत्यको शैली बार भित्र नाचिनै शैलीजस्तो । यसले हामीलाई कुन संस्कार र संस्कृतिको बाटोमा लग्दैछ । हिन्दी गीतको  नेपालीकरण गरेर मात्र बुझ्ने हो भने ती गीतका अर्थ सायदै राम्रा नहुन पनि सक्छन् । द्धैअर्थी लाग्ने हिन्दी आइटमका गीतहरुले हाम्रो सभ्य र सुसंस्कृत समाजमा दीर्घकालिन रुपमा कस्तो असर पार्ला हामीले सायदै सोचेका छैनौँ ।  पछिल्लो समय नेपाली चलचित्रमा पनि भित्रिएको आइटम संस्कृतिले पनि कलिलो उमेरका बालबलिकामा कस्तो संस्कार बिकास गराउला ?  यहाँ न त सञ्चारमाध्यमहरु, न त चलचित्रहलहरु सामजिक उत्तरदयित्वलाई बहन गर्दछन् यस्तो सन्दर्भमा समाज कस्तो होला ?


चलचित्रमा पछिल्लो समय निकै नै प्रयोगमा ल्याइएको आइटम गीत संस्कृति भित्र निकै केलाएर हेर्ने हो भने गीतहरु निकै असभ्य छन् । आइटम गीति संस्कृतिले ‘नारी’हरु लाई कुनै बस्तु बराबर मानिरहेको छ । कुनै पनि गीतमा नारी पात्रलाई विभिन्न विक्रिवितरणका बस्तुहरुसंग तुलना गरिएको छ । गीत मनोरञ्जनको साधन मात्र होइन गीतले पनि सामाजिक उत्तरदयित्वलाई पनि बहन गर्नु पर्दछ । आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ । सन् १९५८ मा बनेको बी.आर चोपडाको फिल्म ‘साधना’ मा लता मंगेस्करले गाएको आइटम गीतमा नारीमाथिको शोषण र दमनको विषयमा बोलेको थियो । त्यति बेलाको समयमा नारीको चरित्र चित्रणलाई सभ्यताको परिधिमा पस्किएको हुन्थ्यो ।

औरतने जन्म दिया मर्दोको, मर्दोने उसे बजार दिया
जब जी चाहा मसला कुचला, जब जी चाहा दुत्कार दिया 
जीन होँठेने इनको प्यार किया, उन होंठोको व्यापार किया
जीस कोखमे इनका जीस्म ढला, उस कोखका कारोबार किया
औरतने जनम दिया मर्दोको................................

तर आजको समयमा चलचित्रले नारी चरित्रलाई बस्तुको रुपमा बिनिमय गर्दछ । चाहे त्यो चलाचित्रको आइटम गीतमा होस चोहे त्यो बिज्ञापनमा किन नहोस । सन् ६० को दशकको चलचित्रमा देखाइने नारी पात्र सन् २०१२ मा आइ पुग्दा यस्तो बनिसकेको छ —

बीच्छु मेरे नैना, बडी जेहरिली आँख मारे 
कमसीन कमरिया साली इक थुम्के से लाख मारे 
नोट हजारोँके खुल्ला छुट्टा कराने आई
हुस्नके तील्ली से बीडि चीलम जलाने आई 
चीकनी चमेली छुपके अकेली 
(सन् २०१२ मा बनेको फिल्म अग्नीपथमा गायिका श्रेया घोषालले गाएको गीत)

एक समय यस्तो थियो जति बेला खराब केटीको चरित्रलाई मात्र खराब गीतको संयोजन गरिन्थ्यो चलचित्रहरुमा । सन् १९७१ मा बनेको हिन्दी चलचित्र ‘जोनी मेरा नाम’को गीतलाई भारतीय चलचित्र क्षेत्रमा सुरुवाती आइटम गीतको रुपमा लिइन्छ । यस गीतले पनि महिलाको चरित्रमा एउटा कामुकता र अश्लिलता सिवाय केहि देखाएको थिएन  ।

हुस्नके लाखों रंग, कौनसी रंग देखोगे
आग हे ए बदन कौनसा अंग देखोगे ।।

सन् १९७० देखिनै भारतीय चलचित्रहरुमा महिलाको चरित्र चित्रण गर्ने सन्दर्भमा विलासीताको बस्तु मान्न थालिएको पाइन्छ । अहिलेको सन्दर्भमा चलचित्रहरुमा महिलाहरुलाई हेर्ने प्रवृत्ति खराब बन्दै गइरहेको भारतीय तथा नेपाली चलचित्र समिक्षकहरुले बताउँदै आएका छन् । अहिले प्रायशः भारतीय चलचित्रका निर्देशक निर्माता तथा हिरोइनहरु पार्लियामेण्टको चक्कर लगाउनु परेको छ । स्टुडेण्ट अफ द इयर चलचित्रको एउटा गीतमा राधालाई सेक्सी को रुपमा चित्रण गरिंदिदा धार्मिक सांप्रादायिकता माथिको भावनामा चोट पुर्याएको विरोधमा भारतको लोक सभामा अश्लिल भाषाशैलीको विषयमा एक नेतृ जोड जोडले आवाज उठाएकी थिइन । भारतीय सेन्सर बोर्ड अफ फिल्म सर्टिफिकेसनले पनि विशेष ध्यान पुर्याउने गर्दछ विशेष रुपले आइटम गीतमा महिलाको चारित्र माथिको व्याख्यालाई हेर्ने गरेको पाइन्छ ।

भारतीय कलाकार तथा फेसन क्षेत्रकी एक हस्ती शवाना आज्मीले  केहि समय अघि भारतीय सञ्चारमाध्यममा भनेकी थिइन भारतीय सिनेमा तथा आइटम गीतहरुमा महिलाको हरुको चरित्र चित्रण गलत तरिकाले गरिदैछ र यसको सुधारको आवश्यकता अविलम्ब भैसकेको छ । अहिले नायिकाहरु आफूलाई आइटम नम्बर भन्दै हिंडिरहेका छन् यसले उनिहरुको गरिमाको कद झन छोटो बनाइरहेको उनको घारणा रहेको थियो ।

भारतीय चलचित्र खलनायकमा यस्तै आइटम गीतको बिबादमा मुछिएको थियो । जुन चलचित्रमा सन्जय दत्त र माधुरी दिक्षीत को पनि अभिनय रहेको थियो । यस चलचित्रकोे एउटा  गीतमा यस्तो शब्द रहेको थियो । चोली के पिछे क्या हे ? चुनरीके निचे क्या हे ? । ( ह्वाट इज विहाइण्ड दी ब्लाउज ?) । यसले अश्लिलता प्रकट गरेको भनेर विवादमा मुछिएको थियो ।

चलचित्र एउटा समाजको असल तस्वीर हो । तर चलचित्रका क्यामेराहरु नै बेइमान हुन वा निर्देशकको दृष्टिकोणनै भोयरिष्टिक भएर हो चलचित्रका गीतहरुको छायांकन अपाच्य बन्दै गएको विश्लेषण पनि सुन्ने गरिन्छ आजभोली । क्यामेराले इकिंत गरेर महिलाको छाति उचालेको, नाइटो  हल्लाएको र कम्मर मर्काएको र हिप्स रब गरेको दृश्यहरुले के देखाउन खोजीएको हो यो एउटा बृहत विश्लेषणको पाटो हो । भोयरिष्टिक क्यामेरा एंगल (ख्यथभगचष्कतष्अ अबmभचब बलनभिक) र अश्लील अर्थ बोक्ने गीतले महिलाको भावनालाई कसरी सम्मान गर्छ होला ? के यहिनै  बजारमा बिक्छ भने सामाजिक उत्तरदायित्वको सवाललाई कहाँ राखेर यस्तो बाटो अवलम्बन गर्दै जाने । यसले महिलाको चरित्रलाई मर्यादाबाट खसाल्ने सिवाय अरु केहि गर्ने छैन ।  महिलालाई फिल्ममा, गीतमा , विज्ञापनमा बस्तुजस्तो गरेर देखाइन्छ । कमोडीफाईको रुपमा जब सम्म महिलाहरुको चित्रण गरिन्छ तवसम्म महिला सशक्तिकरणको कुरा कुहिरोको काग हुनेछ ।
भारतीय चलचित्र क्षेत्रकी चलचित्र निर्माता तथा नायिका सोनी राजदानलाई पनि लाग्छ चलचित्रहरुले महिलालाई बस्तुको रुपमा चरित्र चित्रण गरेको छ । उनले चलचित्रले भन्दा पनि समाजमानै यस्तो अवस्था रहेको फरक धारणा भारतीय सञ्चारमाध्यममा राख्दै आएकी छन् ।

आइटम गीतमा महिलाहरु (हिरोइनहरुलाई ) तन्दुरी चिकन, फिस फ्राई ( तारेको माछा), अल्कोहल, र अन्य खाद्य पदार्थ संग तुलना गरि उपनामको प्रयोग गरिएको हुन्छ के यसले महिलाहरु प्रति सम्मान दर्शाउँछ त ? नेपाली चलचित्रमा पनि केहि समय यता भित्रिएको आइटम गीत संस्कृति पनि यहाँ उठाएको समस्याबाट अछुतो छैन । नेपाली चलचित्र क्षेत्रमा भर्खरै भित्रिदै गरेको यस्तो संस्कारलाई बेलैमा नजरअन्दाज गरिनु उचित होला ।

चलचित्रहरुले महिलाको समाजिक प्रतिष्ठालाई मूल्याकंन गर्न नसकेको आरोप लाग्ने गरेको छ । चलचित्र निर्माता रिमा काग्तीको विचारमा पनि महिलाको चरित्रको सन्दर्भमा गलत प्रस्तुति हुने गरेको छ । त्यस्तै अर्की चलचित्र क्षेत्रकी महिला निर्माता तनुजा चन्द्राको ‘विचारमा चलचित्रले समाज परिवर्तन गर्ने होइन चलचित्र त समाजको ऐना हो । फिल्मस आर जस्ट रिफ्लेक्सन अफ सोसाइटी । इण्टरटेनमेण्ट काण्ट फंकसन इन अ भ्याकुम ।’ तसर्थ चलचित्रलाई दोष लगाउनु भन्दा पनि महिलालाई हर्ने समाजको दृष्टिकोणमा परिवर्तन ल्याउनु अपरिहार्य रहेको बताउँदै आएकी थिइन । त्यस्तै आमसञ्चारमाध्यमको प्रभावको सन्दर्भमा अध्ययन गर्ने क्रममा सन् १९७० मा जेम्स ह्यालोरानले आमसञ्चारले जनतालाई के गर्छ भनेर नसोधौँ बरु जनताले आमसञ्चारलाई कसरी उपयोग गर्दछन् भनेर हरौँ भनेर भनेका थिए । सायद केहि हदसम्म हाम्रो संचारमाध्यमको कण्टेण्टलाई कसरी प्रयोग गर्ने भन्ने कुरा त हाम्र्रो हातमा रहेको छ । संचारमाध्यमको प्रयोग गरेर हामी हाम्रो समाज कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा रहेको छ ।

No comments:

Post a Comment

Gaindakot 1 balmaitri