Tuesday, May 28, 2013

दिवास्वप्न, शंकर सर र मेरो अतित


“मैले पढेको र विचार गरेको त पर्याप्त थिएँ , तर म संग अनुभव थिएन । त्यसैले मलाई लाग्यो, स्वयं अनुभव पनि गर्नुपर्छ, अनि मात्र मेरा विचार परिपक्व बन्नेछन् । त्यसपछि थाहा हुनेछ, मेरो कल्पनामा कति गुदी छ र कति खोक्रोपन ।” 
दिवास्वप्न उपन्यास । जसका लेखक गिजुभाई । पहिलो पृष्ठको पहिलो अंश 
( जुन शीर्ष स्थानमा लेखिएको छ ) ले मलाई निकै नै प्रभावित बनायो । त्यसपछि दिवास्वप्न मा लीन हुदै गएछु । सरासर गुडिरहेको रेल जस्तै, सेता अक्षरका ट्रयाकहरुमा गुडिरहे । कति खेर उपन्यास सुरु भयो र कति खेर अन्त्य भयो केहि भेउ नै पाइन । म यसरी डुबेछु उपन्यासका पात्रहरुमा कतिखेर शंकर सर बन्न पुग्छु , कति खेर मेरो अतित जहाँ विद्यालय जिवनका पाटाहरुमा हराउँछु । म दिवास्वप्नमा यति लिन भएछु २ घण्टाको बसाईमानैै  सिध्याएछु । त्यो अवधिमा उपन्यासका पानाहरु मैले सरसर्ति मात्र पढिन । मैले मेरो बाल्यकाल देखि मेरो दाइको चार बर्षे छोरी श्रेयाको बाल्यकाल सम्मका सवै संस्मरणहरु छरपष्ट पोखिएका हुन्थे तिनै उपन्यासका कुनाकन्दराहरुमा ।

आज २० बर्ष पछि मेैले चाहेको शिक्षक फेला पारेको छु, त्यो पनि एक उपन्यासको पात्रको रुपमा –शंकर सर । म नवलपरासी गैँडाकोट १ मा अवस्थित श्री नेपाल राष्ट्रिय आदर्श माध्यामिक विद्यालयमा अध्ययन गरेको हुँ । त्यँहा शिक्षकहरुको जमात ठूलो थियो तर शंकर सरहरु भने थिएनन् । शंकर सरको ठाँउमा मैले पाएका गुरुहरु भने यस्ता थिए । दुइको गुणा नजानेकोले हातको औँलाको विचमा पेन्सिल राखि च्यापेर यातना दिने ढुण्डिराज सर , विद्यालयमा चर्पीको व्यवस्था थिएन त्यस्तो अवस्थामा स्कूलबाट टाढा खेतमा दिशा पिसाब गर्न गयो र टाउको दुखेर घर जान विदा माग्यो भनेर साँप्रामा सूम्ला उठ्ने गरि पिट्ने टिकादेवि म्याडम र एक देखि सय सम्म अंग्रेजीमा भन्नुपर्ने मा अन्तिम अंक सयलाई अंग्रेजिमा भन्न नजानेकोले आदि घण्टा चर्को घाममा कुखुरा बनाउने बामदेब सर । 
आज सम्म पनि मैले उहाँहरुलाई विर्सन सकेको छैन, उहाँहरुलाइ सम्झनु उहाँहरुले दिएको ज्ञानको उपज भने होइन यो त उहाँहरुले दिएको यातनाको चिनो हो जुन आजसम्म पनि मनमा गडिरहेछ । यदि उहाँहरुको स्थानमा शंकर सर भैदिएको भए आजको दिन केहि अलग हुने थियो होला । यस उपन्यासमा कक्षा चारका विद्यार्थीलाई कोर्सका विषय बाहेक अन्य पुस्तक पढ्ने बानिको विकास गराइएको छ तर मैले २०६३ सालमा स्नातक अध्ययनको लागि काठमाण्डौ छिरेपछि मात्र अन्य बाहिरी पुस्तक पढ्ने बानीको विकास हुदै आएको छ । तसर्थ विद्यालय जीवनमा शंकर सरको अभाव आज आएर महसुस हुँदैछ । 
विद्यार्थीमा अथाह प्रतिभा लुकेर रहेको हुन्छ । ति सुषुप्त प्रतिभालाई उजागर गर्ने काम , आत्मविश्वास भर्ने काम त एक कलात्मक शिक्षकमा हुन्छ । त्यो त केवल दिवास्वप्नका शंकर सर मा छ । हामीकहाँ शंकर सरहरु नभएका होइनन् तर एकदम न्युन छन् । म कुरा गर्दै थिए विद्यार्थी प्रतिभा सम्मानको । विद्यार्थीको आत्मविश्वास बढाउने हौसलानै सवै भन्दा ठूलो पुरस्कार र सम्मान हो  । मेरो जीवनको थप पाटो कोट्याउन चाहन्छु । एक पटक अन्तर्विद्यालय कविता प्रतियोगिता थियो । जसमा नेपाली शीक्षक श्याम सरले कविता लेख्न आग्रह गर्नुभयो र हामी सवैले कविता लेखेर ल्यायौँ । सवैको भन्दा मेरो कवितालाई राम्रो छानियो र म कविता प्रतियोगितामा जाने निधो गरियो । प्रतियोगिताको ठीक एक दिन अगाडि श्याम सरले आफैँ एक कविता लेखेर मलाई ल्याएर दिनुभयो र भन्नुभयो तिमिले भोली यहि वाचन गर्नु पर्दछ भनेर जानुभयो । म अलमलमा परें । तर पछि शिक्षकको कुरा माने र त्यहि वाचन गरे । प्रतियोगितामा तेस्रो स्थान पनि प्राप्त गरेँ तर जुन खुसि र उमंग मिल्नु पर्ने हो त्यो कहिलै मिलेन र कहिल्यै गर्विलो महसुस भएन । आज फेरी एक पटक सुरक्षित त्यो प्रमाणपत्रलाई हेरिरहेँ र त्यसबेला शंकरसर  भएको भए मेरो श्रृजनालाई महत्व दिन्थे होला भन्दै उनको अभाव महसुस गरिरहेँ । 
त्यस्तै अर्को कुरा केहि महिना अघिको मात्र हो म घर गएको थिए । मेरो परिवारमा सवै भन्दा सानी विद्यार्थीको रुपमा श्रेया छिन । उनि अहिले नर्सरीमा पढ्छिन उनि पढ्नमा पनि निकै चाख राख्छिन । उनि म संग बसेर पढ्न र कथा सुन्न निकै रुचाउँछिन । मैले उनलाई खेल खेलाउदै पढाएको थिएँ । ब् बाट आउने शब्द भन भन्दा उनि अल्मलिन्थिन र मैले उनलार्ई नानीको खुट्टामा कहिलेकाहिँ टोक्छ भन्दा उनले झट्ट उत्तर दिन्थिन ब्लत भनेर । त्यसै गरि द्य बाट, ऋ बाट भनेर क्रमशः सिकाउँथे । सायद जानी नजानी शंकर सरको बाटोमा आफुलाई पाउँदा मन आल्हादित भएर आयो । 
परम्परागत रटाने शिक्षा भन्दा व्यवहारिक शिक्षा मात्र दीगो हुन सक्छ । शिक्षालाई संस्कारको रुपमा विकास गरिनुपर्दछ । तर शिक्षालाई असल संस्कारको रुपमा विकास गराउनु पनि शंकर सरहरुको आवश्यकता छ । ओशोले भनेका छन्, विश्वविद्यालयबाट प्रमाणपत्र लिएर हजारौँ निस्केका छन् तर ज्ञानी भएर कमै मात्र । सायद तिनै ज्ञानीहरु शंकर सरहरु होलान् ।

No comments:

Post a Comment

Gaindakot 1 balmaitri