Tuesday, March 22, 2016

विवादमा अल्झियो ब्रिटिस क्याम्पको पार्क

श्रीधर उपाध्याय
गैँडाकोट । केही दिन अघि एक अनलाईनमा प्रकाशित गैँडाकोटको व्रिटिस क्याम्पमा पार्क बन्ने समाचारलाई गैँडाकोटबासीले खुब पढे र शेयर गरे । तर पार्क बन्ने नबन्ने अन्यौल बढेको छ । व्रिटिस क्याम्पमा रहेको ३ विगाह क्षेत्रमा गैँडाकोट नगरपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा पार्क निर्माण हुन लागेको थियो । पिकनिक स्पटका रुपमा रहदै आएको सो क्षेत्र गैँडाकोट २ को सुम्निमा विकास परिषद्ले आफ्नो संरक्षणमा रहँदै आएको दाबी गरेपछि पार्क निर्माणमा अन्यौल छाएको हो । सुम्निमा विकास परिषदका अध्यक्ष श्याम सुन्दर पराजुलीले भने – “त्यो क्षेत्र हाम्रो संरक्षणमा रहँदै आएको क्षेत्र हो, हाम्रो सहमति बेगर पार्क निर्माणको काम अगाडी बढ्न सक्दैन ।” उनले सुम्निमा विकास परिषद्संग छलफल नगरी काम अघि बढाएको आरोप लगाए । हामीले नगरपालिका र पार्क निर्माण समितिलाई जानकारी गराईसकेका छाँै पराजुलीले भने । पार्क निर्माण कार्यको अवरोध हामीले गरेका छैँनौ र हामी पार्क निर्माण अवधारणाको विरोधी समेत होइनौँ भन्दै पराजुलीले भने – “ सुम्निमा विकास परिषदको नेतृत्वमा पार्क निर्माणको काम अघि बढे हामी सहमतिमा आउन सक्छौँ ।” आफुले संरक्षण गर्दै आएको जग्गामा आफ्नो भूमिका खोज्नु कुनै गलत काम  नगरेको उनको भनाई छ । यस्तै पराजुलीले पार्क निर्माणको काम राजनीतिक जश लिन खोज्दा सुम्निमा विकास परिषद्लाई पन्छाइएको बताए ।

यता  पार्क निर्माण समितिका अध्यक्ष धनबहादुर पौडेलले पार्क निर्माणको काममा कुनै राजनीतिक जश लिन नखोजेको बताए । पौडेलले सुम्निामाले संरक्षण गर्दै आएको भन्ने कुनै आधिकारिक पक्ष नभएको र खाली जग्गाको संरक्षणको लागि काम अघि बढाउन खोजेको बताए । सुम्निमाले निकालेको विवादका कारण अहिले पार्क निर्माणको काम अघि बढ्न नसकेको पौडेलको भनाई छ । विकासका लागि राम्रो काम र सुन्दर नगरपालिका निर्माणका लागि काम अघि बढाएको कारण छलफल र सहकार्यबाट अघि बढ्न तयार रहेको समेत पौडेलले बताए । विजय खबरसंग कुराकानी गर्दै उनले भने – “नाममा हाम्रो कुनै विवाद छैन, सुम्नीमासंग छलफल गरिरहेका छाँै, समझदारी  भए पार्क निर्माणको काम अघि बढ्छ नत्र रोकिन्छ । ” पौडेलले सुम्निमासंग मात्र नभएर मौलाकालिका सामुदायिक बनसंग पनि समझदारी हुनु पर्ने बताए ।  तर मौलाकालि सामुदायिक बनका अध्यक्ष शालिकराम सापकोटाले सामुदायिक बनलाई कुनै आपत्ती नभएको बताए । सापकोटाले भने – “पार्क निर्माणको माथि पट्टि रहेको बाटो माथि सामुदायिक बनको क्षेत्र भएकोले त्यसमा कुनै विवाद छैन ।”  सापकोटाले सुम्निमा विकास परिषद्को संरक्षणमा रहेको जग्गा हो भने उसकै नेतृत्वमा पार्क निर्माणको काम अघि बढाउन सकिने बताए । यता गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले सवै पक्षको सहमति भए चाँडै काम अघि बढ्ने बताए ।  पार्क निमार्णका लागी पहिलो चरणमा नगरपालिकाको ३ लाख ७० हजार र देवघाट क्षेत्रबिकास समितिको २ लाख गरी ५ लाख ७० हजारले सो क्षेत्रको करिव ३ बिगाह जमिनको संरक्षण र तारवार गरिने गरी काम अगाडी बढेको तिवारीले बताए । गैडाकोट नगरपालिका र देबघाट क्षेत्रबिकास समितिको करिव ४० लाख लागतमा वातावरण मैत्रि पार्क निमार्ण गर्ने योजना रहेको तिवारीले बताए । नगरपालिकाको बातावरण मैत्री कार्यक्रम बाट साझेदारी कार्यक्रम अन्त्रगत पार्क निमार्ण कार्य आगडी बढाउन लागिएको नगरपालिकाकी वातावरण अधिकृत विजया शर्माले बताइन् ।
यस अघि पार्क निर्माणको लागि धनबहादुर पौडेलको अध्यक्षतामा ९ जनाको निर्माण समिति गठन गरिएको छ । यस्तै ७ जनाको अनुगमन समिति समेत गठन गरिएको छ, जसको अध्यक्षमा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र पिया रहेका छन् ।
महेन्द्र शाहले पूर्व पश्चिम राजमार्गको शिलान्यास गरेको शिलान्यास चोकबाट  करिब २ किलोमिटर पूर्व लागेपछि बृटिश क्याम्प पुगिन्छ । मौलाकालि सामुदायिक बनको पूर्वी छेउ नारायणी नदीको किनारमा हरियाली क्षेत्र, ठूला ठूला ढुङ्गा रहेका छन् । पिकनिक क्षेत्रका लागि पनि परिचित छ । ऐतिहासिक रुपमा पनि बृटिश क्याम्प परिचित क्षेत्र हो ।




Monday, March 14, 2016

एकीकृत सम्पत्ती कर अध्ययनका लागि धरान–धनकुटा

 
श्रीधर उपाध्याय
गैँडाकोट । एकीकृत सम्पत्ति कर सम्बन्धी अध्ययन अवलोकनको लागि गैँडाकोट नगरपालिकाको आयोजनामा स्थलगत भ्रमण सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका, एकीकृत सम्पत्ति कर अध्ययन समिति, राजनीतिक दलका प्रतिनिधि, सार्वजनिक जग्गा संरक्षण समितिका सदस्य र सञ्चारकर्मीको टोलीले धरान उपमहानगर र धनकुटा नगरपालिकामा एकीकृत सम्पत्ति करको अध्ययन अवलोकन गरेको छ ।    विस्तृत जानकारीको लागि तलको भिडियो क्लीक गर्नुहोस


बुधवार टोलीले धनकुटा नगरपालिकाको अध्ययन गरेको थियो । धनकुटा नगरपालिकाको सभाहलमा नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ धितालले २०६१ सालेदेखी एकीकृत सम्पत्ति कर प्रणाली लागू भएको बताए । धनकुटा नगरपालिकाले व्यापारिक क्षेत्र, आवासीय क्षेत्र, कृषि र वनपाखा गरी चार क्षेत्रको विभाजन गरी सोही अनुरुप एकीकृत सम्पत्ति कर प्रणाली लागू गरेको बताए । यस्तो किसिमको कर प्रणाली लागु गर्न राजनीतिक दलको सबै भन्दा महत्वपूर्ण भूमिका र प्रतिवद्धता हुनुपर्ने धितालले बताए । धनकुटा नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा समेत उत्कृष्ट काम गरेको धितालको दाबी थियो । नियन्त्रण र व्यवस्थापनका लागि सामाजिक परिचालन, जनचेतना र सफ्टवेयरको प्रयोगनै उपयुक्त भएको उनको भनाई थियो । अध्ययन अवलोकनका लागि धनकुटा पुगेको गँैडाकोटको टोलीले विहिवार धरान नगरपालिकाको अध्ययन अवलोकन गरेको थियो । धरान उपमहानगरपालिकाका बरिष्ठ कर अधिकृत खगेन्द्र प्रसाद खतिवडाले एकीकृत सम्पत्ति कर सम्बन्धि अवधारणा तथा कार्यन्वयनका चरण र प्रक्रियाहरुका बारेमा सहजीकरण गरेका थिए । अधिकृत खतिवडाले पनि यस किसिमको कर प्रणाली लागू गर्न राजनीतिक दलको स्पष्ट बुझाई, सहमति र प्रतिवद्धता आवश्यक भएको बताए । गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रि प्रसाद तिवारीले एकीकृत  सम्पत्ति कर सम्बन्धि भ्रमणले राजनीतिक दलका प्रतिनिधिहरुको बुझाईले अरुलाई पनि बुझाउन र लागू गर्न सहज हुने बताए । गैँडाकोट नगरपालिकाबाट अध्ययन अवलोकनका लागि पुगेको टोलीमा २९ जनाको सहभागिता रहेको थियो । सहभागिहरुले प्रत्यक्ष रुपमा एकीकृत सम्पत्ति कर लागू भएका क्षेत्रको भ्रमणले  आफूहरुको बुझाईमा सकरात्मक परिवर्तन आएको बताएका छन् । सहभागि हर्कपुरका विष्णु भट्टले एकीकृत सम्पत्ति कर लाई हाउगुजीको रुपमा लिन नहुने  उनको भनाई छ । यस किसीमको कर प्रणाली लागु भैसकेपछि नगरपालिकाको नगरबासी प्रति झन जिम्मेवारी बोध बढ्ने सहभागिहरुको बुझाई रहेको छ ।







Tuesday, February 2, 2016

शिक्षकको काम पढाउने कि राजनीति गर्ने ?

पार्टीको झण्डा बोक्दै, गँैडाकोटमा ४ जना प्रधानाध्यापक

गैँडाकोट । एक महिनाअघि शिक्षामन्त्री गिरिराजमणी पोखरेलले शिक्षकले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने बताएका थिए । उनले अनुगमन गरी पार्टीमा आवद्ध शिक्षकलाई कारवाही गरिनेसमेत चेतावनी दिएका थिए, तर एक महिना नबित्दै भर्खरै भएको नेपाली काँग्रेसको १३ औँ महाधिवेशन अन्तर्गतको वडा, गाउँ तथा नगरअधिवेशनमा धेरै शिक्षकहरु निर्वाचित भएका छन् । सामुदायिक विद्यालयका स्थायी शिक्षकहरुदेखि निजी विद्यालय तथा कलेजका शिक्षकसम्म कार्यकारी पदमा निर्वाचित भएका छन् । राजनीतिक दलको कार्यकारी पदमा निर्वाचित भएका शिक्षकहरुले कसरी पढाउलान् ? यसले शिक्षकको काम पढाउने कि राजनीति गर्ने भन्ने प्रश्न उठाएको छ ।
गैँडाकोट १ मा रहेको नेपाल राष्ट्रिय शमसेर आदर्श माविका प्रधानाध्यापक इन्द्रराज भट्टराई वडा नं. १ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि भट्टराईले फेसबुकमा स्टाटस राख्दै कायकर्तालाई बधाई नै दिए “ नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा गैंडाकोट १ बाट निर्वाचित हुन सहयोग गर्नुहुने सम्पूर्ण सदस्य साथीहरुमा आभार प्रकट गर्दछु” । 

उनको योजना क्षेत्र र जिल्लासम्म कार्यकारी पदमा पुग्ने छ । विद्यालयकै प्रधानाध्यापक यसरी राजनीतिक दलको  कार्यकारी पदमा निर्वाचित भएपछि उनले पार्टि चलाउन या विद्यालय ? उनी मात्र होइन उनकै विद्यालयका अर्का शिक्षक श्याम सुन्दर पराजुलीसमेत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । यस्तै गैँडाकोट २ मा रहेको महेन्द्र स्मारक निमावि हाँकिरहेका प्रधानाध्यापक शिवराज काफ्ले गैँडाकोट वाड नं. १ को प्रमुख कार्यकारी पद वडा सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित भएपछि काफ्ले पनि फेसबुकमा स्टाटस लेख्दै कार्यकर्तालाई बधाई दिए “ आइ वाण्ट थ्याङ्कस अल माइ गैँडाकोट वान फ्रेण्ड्स हु भोट मि” । 

यस्तै गैँडाकोट ७ मा रहेको नारायणी माविका प्रधानाध्यापक नारायण पौडेल पनि काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए । उनले पनि आफु माध्यामिक विद्यालयको प्रधानाध्यापक भएको विर्सिएका छन् । यस्तै अमरापुरीमा रहेको पञ्चज्योती निमाविका प्रधानाध्यापक रामप्रकाश सिग्देललाई पनि काँग्रेसको महाधिवेशनले छोडेन । सिग्देल पनि गँैडाकोट १५ बाट नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको लागि क्षेत्रीय प्रतिनिधिका लागि चयन भएका छन् ।
गैँडाकोटमा यी चार प्राचार्य मात्र होइन विद्यालय तथा कलेजमा अध्यापनरत शिक्षकहरु विभिन्न पदमा निर्वाचित भएका छन् ।  नगरसचिवमा निर्वाचित भएका मुकुन्द पौडेल, नगरसदस्यमा निर्वाचित तिर्थराज रिमाल पनि कार्यरत शिक्षक हुन् । पौडेल कलेज तहमा अध्यापन गर्छन् भने रिमाल सामुदायिक विद्यालयबाट सेवा निवृत्त भई निजी उच्च माविमा अध्यापनरत छन् । यस्तै गैँडाकोट ९ बाट क्षेत्रीय प्रतिनिधि खगराज सापकोटा र वडा नं. १ की महिला क्षेत्रिय प्रतिनिधि रमिला ढकाल पनि शैक्षिक संस्थामा आवद्ध रहेका छन् ।
यसरी विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकहरुले राजनीतिक दलको झण्डा बोक्ने कार्यले समाजमा गलत नजिर र नकरात्मक सन्देश गएको शिक्षाविद् हरुकोे तर्क छ । शिक्षकहरु पार्टीको कार्यकारी पदमा पुगेकोमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक यूनियनका पूर्व अध्यक्ष केशव प्रसाद भट्टराई आफ्नो फेसबुकमा लेख्छन् “ शिक्षक साथीहरू गर्वका साथ कांग्रेसको निर्वाचनमा कुनै पदमा निर्वाचित भएको घोषणा गरेर फेसबुकमा समाचार हालिरहनु भएको छ । शिक्षक पदमा रहुञ्जेल कांग्रेसको सहयोगी, समर्थक र शुभेच्छुक हुन त हुन्छ, तर कुनै निर्वाचित् पदमै बसेर काम गर्न भने हुन्न भन्ने मेरो मान्यता हो ” । 

शनिबार सकिएको नेपाली काँग्रेस गैँडाकोट नगरसमितिको निर्वाचनमा एक दर्जन भन्दा बढि शिक्षकहरु कार्यकारी पदमा निर्वाचित भएका छन् । चुनावमा उम्मेद्वारी दिएका मध्ये करिब दुई दर्जन शिक्षक रहेका थिए । शिक्षकहरु नगरसचिवदेखि वडा सभापति, नगर सदस्य र क्षेत्रीय प्रतिनिधिसम्म रहेका थिए । करिब आधा महिना चुनावी प्रचारमा विताएका ती शिक्षकहरु क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन र केन्द्रीय अधिवेशनसम्म विद्यालयमा अनुपस्थित हुने निश्चित छ  । निर्वाचित भैसकेपछि पार्टीका आन्तरिक बैठकदेखि विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा कति अनुपस्थित होलान् ? यसले विद्यार्थीको पठनपाठनलाई कति असर पार्ला ? भन्ने तर्फ शिक्षा कार्यालयले कुनै ध्यान दिएको छैन । 

नवलपरासीका जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले भने यस विषयमा आफूले केही भन्न नसक्ने बताए । उनले नीति नियम बनि नसकेको र देशभरिनै शिक्षकहरु राजनीतिमा सक्रिय रहने परिपाटि रहेकाले यो केन्द्रीय समस्या रहेको बताए । शिक्षकहरु राजनीतिक दलको कार्यकारी पदमा सहभागि हुने यस समस्याको निवारणका लागि नेपाल सरकारले आवश्यक नीति नियम बनाउनु जरुरी रहेको पाण्डको भनाई छ ।
संशोधन प्रकृयामा रहेको शिक्षा ऐनमा शिक्षकको आचरण अन्र्तगत दलको सदस्य हुन नपाईने ब्यवस्था गरिएको छ । उक्त ब्यवस्था हटाउन शिक्षक महासंघले लविङ् गरिरहेको छ ।


Thursday, January 14, 2016

आदर्श विकास समाज नेपालद्धारा बारपाकमा न्यानो लुगा वितरण


गैँडाकोट, १ माघ ।  आदर्श विकास समाज नेपाल गैँडाकोट १ ले विहिबार गोरखाको बारपाकमा करिब १ लाख बराबरको राहत वितरण गरेको छ ।

संस्थाको न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत बारपाकको विकट घ्याचोक गाउँमा पुगि १ सय ५० परिवारलाई राहत वितरण गरिएको हो ।


गोरखाको बारपाकमा चिसोले जनजिवन कष्टकर बन्दै गएपछि संस्थाले न्यानो ओड्ने लुगा वितरण गरेको राहत वितरण टोलीका सदस्य मुक्तिराम तिवारीले जानकारी दिनुभयो । संस्थाका सचिव मोतिश्चन्द्र चालिसे, लालमणि पौडेल, मुक्तिराम तिवारी लगायत ९ जनाको टोली बारपाक पुगेको थियो ।



अहिलेसम्म गाँउमा राहत नपुगेको र न्यानो लुगा पाएपछि आफुहरुलाई निकै खुसी लागेको स्थानीयको भनाई छ ।  सामाजिक विकासमा विगत दुई दशकदेखि आदर्श विकास समाज नेपाल सक्रिय रहँदै आएको छ ।

Wednesday, October 7, 2015

नगरबासीको प्रतिक्रिया

गैँडाकोट नगरपालिकाको सेवा सुविधाप्रति नगरबासीको प्रतिक्रिया र सरसफाई कार्यक्रमा नगरपालिकाको सक्रियता

Saturday, August 22, 2015

सामुदायिक रेडियो विजय एफ एम १२ औँ बर्षमा प्रवेश ।।

स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलको नृत्य ।।

विजय एफ एमका अध्यक्ष पौडेल र संस्थापक अध्यक्ष सापकोटाको कम्मर मर्काई नृत्य

पशुपति शर्माको चटपटेपसलमा विजय एफ एमका स्रोता ।।

श्रीधर पौडेल, गैँडाकोट, ६ भाद्र । सामुदायिक रेडियो विजय एपm एम १०१ दशमलब ६ भदौ ५ शनिबारबाट १२ औँ बर्षमा प्रवेश गरेको छ । १२ औँ बसन्तमा टेकेको अबसरमा गौरबमय १२ र्आैँ बार्षिकोत्सब समारोह भब्य कार्यक्रमका विच सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका स्थानिय विकास अधिकारी लालकृष्ण पौडेलले समुदायमा विजय एफ एमले पुर्याएको भूमिकाको सह्राना गर्दै प्रशंसा गर्नुभएको छ । बार्षिकोत्सब समारोहमा बोल्दै पौडेलले सामुदायिक रेडियोको विकासमा सहयोग गर्ने प्रतिवद्धता गर्दै संयमित, सौहाद्र पत्रकारीताको विकास गर्न पत्रकारलाई समेत  आग्रह गर्नुभएको छ ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


सञ्चार माध्यम समाजिक रुपान्तरण लागि भएकोले सरोकारवाला निकायहरुलाई झकझकाउन विजय एफ एम सधैँ तत्पर रहने विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्याति पौडेलले बताउनुभयो । सामुदायिक रेडियोको विकासको लागि स्रोता आफन्तले पुर्याउनुभएको योगदानलाई अध्यक्ष पौडेलले स्टेजबाटै शिर झुकाएर नमन गर्नुभएको थियो । समुदायको सहयोगबाट सुरु भएको रेडियो नेपालमै सामुदायिक रेडियोको लागि उत्कृष्ट रहेको पनि पौडेलले बताउनुभयो । सामुदायिक रेडियो विजय एफ एम आज बाट १२ बर्षमा पुगेको छ । १२ बर्षमा खोला पनि फर्कन्छ  भने झैँ अब सामुदायिक रेडियो सूचना क्षेत्रको दनियाँमा झन फराकीले भएर जाने पौडेलले उद्घोष गर्नुभयो  //  भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


बृहत बार्षिकोत्सब समारोहमा विजय एफ एमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले ठूलो चुनौती र संघर्ष पार गर्दै आज रेडियो यहाँसम्म यहाँ सम्म आइपुग्नु गौरबको विषय भएको बताउनुभयो । नेपालकै उत्कृष्ट सामुदायिक रेडियो भैसकेको विजय एफ एम गैँडाकोटक्षेत्रको आशाको केन्द्र भएको गैँडाकोट नगरपालिकाका कार्यकारी अधिकृत बद्रिप्रसाद तिवारीले बताउनुभएको छ । नगरबासीलाई सचेत र कर्तब्यनिष्ठ बनाउँदै सार्वजनिक निकायलाई खबरदारी गर्ने दरिलो पाटो भएको उल्लेख गर्नुभएको छ । बार्षिकोत्स समारोहमा विजय विकास स्रोत केन्द्रका अध्यक्ष बसन्तराज लम्साल, समाजसेवी तिलक प्रसाद सापकोटा लगायतले विजय एफ एमको १२ औँ बर्षमा प्रवेशगरेको अवसरमा शुभकामना दिनुहुँदै एफ एमले अझै धेरै अगाडी बढ्न आवश्यक भएकोमा जोडदिनुभएको छ । आजको बार्षिकोत्सबको अवसरमा प्रमुख अतिथिले पानसमा बत्तीमा बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । साथै पौडेलले विजय एफ एमको यस  बर्षको नयाँ स्टेशन आइडिको लञ्च गर्नुभएको थियोे थियो । आजको कार्यक्रममा विभिन्न सहयोगि संघसंस्था, विज्ञापन दाताहरु, ३ साता ब्यापि बार्षिकोत्सब कार्यक्रम अन्तर्गत गरिएका विभिन्न प्रतियोगिताका विजेताहरुलाई सम्मान, पुरस्कार तथा प्रशंसा पत्र हस्तान्तरण गरिएको थियो । सामुदायिक रेडियो विजय एफ एम १०१. ६ को बृहत बार्षिकोत्सब समारोह को औपचारीक कार्यक्रम विजय एफ एम का अध्यक्ष इन्द्रराज ज्योति पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । सूचना तथा सञ्चारको क्षेत्रमा नयाँ आयाम थपिदैं रहँदा आगामी दिनमा विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थालाई क्षेत्रीय सञ्चार गृहको रुपमा स्थापित गर्ने लक्ष्यको साथमा विजय एफ एमको प्रसारण अघि बढिरहेको छ । बार्षिकोत्सबको अवसरमा एफएमले विभिन्न विषयगत संघ सस्ंथासंग अन्तरक्रिया, गजल उत्सव, हाजिरीजवाफ, वक्तृत्वकला, प्रतियोगिता गरिसकेको छ । सामुदायिक रेडियो विजय एफ.एम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच बिस्तारका लागि बिगत ११ बर्षदेखि अनवरतरुपमा रेडियो तरङ्ग मार्फत सेवा पु¥याउँदै आएको छ ।

सांस्कृतिक कार्यक्रम ।।

सामुदायिक रेडियो विजय एफ एम १०१. ६ को बृहत बार्षिकोत्सब समारोह को औपचारीक कार्यक्रम पछि सुरु भएको बृहत सांस्कृतिक कार्यक्रममा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रह्यो  ।

मलाई जापान पनि यहि मलाई मलेसिया यहिँ भन्ने गीतबाट सांस्कृतिक कार्यक्रममा प्रस्तुति सुरु गरेका गायक शर्माले दर्शकलाई मात्र नचाउनु भएन । शर्माको गीत सुनेर कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका स्थानिय विकास अधिकारी लालकृष्ण पौडेल पनि जुरुक्क उठ्नुभयो र छमछम नाच्नुभयो ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


प्रमुख अतिथि पौडेलमात्रै होइन विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष इन्द्रराज ज्योति पौडेल र संस्थापक अध्यक्ष खेमराज सापकोटा पनि पशुपतिको गीतमा कम्मर मर्काउन सुरु गर्नुभयो ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।


सांस्कृतिक कार्यक्रमका मूख्य आकर्षक लोकगायक पशुपति शर्माले भूकम्पबाट तर्सिएका गैँडाकोट बासीको सात्तो फुक्नुभयो गितबाटै । साथै २० रुपैँयाको चटपटे खानपनि आग्रह गर्दा दर्शक मञ्चमै आइपुगेका थिए ।

भिडियोका लागि तल क्लीक गर्नुहोला  ।।

सांस्कृतिक कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक तथा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बरविरही गुरुगं, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सहकोषाध्यक्ष तथा लोक गायक दिपक खड्का, लोक गायीकाहरु सम्झना लामिछाने मगर, दुर्गा सापकोटा, शारदा सापकोटा, पार्वती भूजेल, नायक हिमाल रिजाल लगायतका स्थानिय तथा राष्ट्रिय कलाकारहरुको  प्रस्तुति दर्शकहरु पानीमा भिजेरपनि मन्त्रमुग्ध बनेका थिए, कम्मर मर्काएका थिए । हजारौँको संख्यामा आएका विजय एफ एमका स्रोता आफन्तको भिडलाई मिलाउन पनि हम्मे हम्मे परेको थियो ।




Sunday, August 9, 2015

नवलपरासी र चितवन समेटिएको प्रदेशको विशेषता ।।


 



श्रीधर पौडेल
दलहरुबीच सीमांकन सहितको प्रदेशमा सहमति भएपछि संघिय प्रदेशको सम्पन्नताका विषयमा विवाद र बहस सुरु भएको छ । नवलपरासी र चितवन सिमाकंन गर्दा तीन प्रदेशमा परेका छन् । नवलपरासीको पूर्वी भाग नवलपुर समेटिएको क्षेत्र प्रदेश ४ र नवलपरासीको दाउन्ने पश्चिम भाग समेटिएको ५ नम्बर प्रदेश बढी आम्दानी हुने प्रदेशमा पर्ने विश्लेषण गरिएको छ । अर्थबिद चन्द्रमणि अधिकारीका अनुसार प्रदेश नम्बर ५ मा सबै तराईका मलिलो भूभाग परेकाले सामथ्र्यका हिसाबले असाध्यै उच्च रहेको छ । यस्तै चितवन समेटिएको ३ नम्बर प्रदेश सबै भन्दा बढि आम्दानी हुने प्रदेशको रुपमा विकसीत हुने देखिन्छ । प्राकृतिक स्रोत, आर्थिक, औद्योगीक हिसावले प्रदेशहरुको क्षमता फरक फरक देखिएको छ ।

नवलपुर समेटिएको प्रदेश ४ ।।

जनसंख्याका हिसाबले नवलपरासीको पूर्वी क्षेत्र नवलपुर समेटिएको क्षेत्र सबै भन्दा कम जनसंख्या रहेको प्रदेश देखिन्छ । यस प्रदेशमा कुल जनसंख्याको १० प्रतिशत रहेको छ । २० हजार ६ सय १२ बर्ग  किलोमिटरमा फैलीएको यस प्रदेशमा पर्यटनको हिसाबले सबल देखिन्छ । गोरखादरबार, मनास्लुसंरक्षण क्षेत्र, चितवन निकुञ्ज क्षेत्र, घलेगाँउ, अन्नपूर्ण संरक्षण क्षेत्र, माथिल्लो मुस्तागं कागबेनी ढोरपाटन सिकार आरक्ष, मौलाकालीका गैँडाकोट जस्ता प्राकृतिक अनुपम क्षेत्र रहेका छन् । मानव विकास सुचांकको आधारमा पनि ०.५१ अरु प्रदेशभन्दा राम्रै देखिन्छ । करिब ३८७ उद्योग, २९ जलविद्युत आयोजना र करिब ६० प्रतिशत साक्षरता रहेको छ । उत्पादनमुलक जमिन कमी हुनु यस क्षेत्रको नराम्रो पक्ष हो ।

दाउन्ने पश्चिम समेटिएको प्रदेश ५ ।।

नवलपरासीको दाउन्ने पश्चिम समेटिएको यस प्रदेशको कुल जनसंख्याको करिब १७ प्रतिशत जनसंख्या रहेको यस प्रदेश पनि पर्यटनको हिसाबमा अबल देखिन्छ । क्षेत्रफलको आधारमा २२ हजार १ सय ९२ बर्गकिलोमिटरमा फैलीएको यस प्रदेशमा बर्दिया, बाँके निकुन्ज, लुम्बीनी , तानसेन, रानीमहल, स्वर्गद्धारी र बागेश्वरीमा पर्यटनको राम्रो प्रवन्ध गर्न सकियो भने आम्दानीको राम्रो स्रोत देखिन्छ । कुनै पनि जलविद्युत आयोजना नभएको यस प्रदेशमा करिब ९ सय उद्योगधन्दा रहेका छन् । ५० प्रतिशत भन्दा बढि साक्षर मानिस भएको यस प्रदेशको मानव विकास सूचक ० दशमल ४६ विन्दुमा देखिन्छ । यस प्रदेशले चिनलाई नछुनु यसको प्रभाव कहिँ कतै ब्यापारिक दृष्टिकोणबाट हेर्दा देखिन्छ ।

चितवन समेटिएको प्रदेश नम्बर ३ ।।

चितवन समेटीएको यस प्रदेश  अरु प्रदेश भन्दा बढि सवल देखिन्छ । करिब २० हजार बर्ग किलोमिटरमा फैलिएको यस प्रदेशमा लाङटाङ , शिवपुरी, चितवन निकुञ्ज, नुवाकोट दरबार क्षेत्र, ककनी नगरकोट, सिन्धुली जस्ता कैयन पर्यटकिय स्थल रहेका छन् । कुल जनसंख्याको २१ प्रतिशत अर्थात करिब ५५ लाख जनसंख्या भएको यस प्रदेशमा  साक्षरता र मानव विकास सूचक राम्रो देखिन्छ । करिब ५६ प्रतिशत साक्षर रहेको यस प्रदेशमा मानव विकास सूचक ० दशमलब ५१ रहको छ । अन्य प्रदेशको तुलनामा सबै भन्दा धेरै करिब हजार जति उद्योगधन्दा र ३८ वटा जलविद्युत केन्द्र यस क्षेत्रमा  छन् । पहिले देखि राजधानी रहेको काठमाडौँ पनि यसै प्रदेशमा भएको कारण भौतिक संरचना सेवा सुविधा र प्रक्रिया निर्माणमा सहज देखिन्छ । सम्भवतः केन्द्र सरकार पनि यसै प्रदेश भित्र रहने छ ।

Gaindakot 1 balmaitri