Monday, November 11, 2013

विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा ।


विकास निर्माणको काम नपूगे पनि राजनीतिक पार्टीका झण्डा र नेताका फोटाहरु भने पुग्दा रहेछन् दूर दराजमा । 


आफ्नै जन्मथलो पनि म पुरै घुमेकै रहेनछु । हिजो मात्र अवसर मिल्यो गैँडाकोट गाविसको वाड नं ३ अन्र्तगतको ढोडेनी गाँउ पुग्ने । पूर्व पश्चिम महेन्द्र राजमार्ग बाट करिब आठ दश किलोमिटर उत्तर तर्फका जंगल छिचोल्दै पुगिने त्यस गाँउ पुग्न भटभटेको पछाडि बसें । करिव आधा घण्टाको त्यो बाटोमा म भटभटेमा मुस्किलले पन्ध्र मिनेट बसें होला । अरु समय त त्यो विग्रिएको बाटोमा उफ्रिरहन्थे म भटभटेमानै । हावामा उडेझैँ । विं.सं २०४८ सालको नेपाली काँग्रेसको पालामा खोलीएको त्यो बाटो आज सम्म पनि कुनै सुधार हुन नसकेको गुनासो आम जनताको अनुहारमा प्रष्ट देखिन्थ्यो । 

Wednesday, September 18, 2013

संविधान , गोर्खाल्याण्ड र दिल्ली


संविधान , गोर्खाल्याण्ड र दिल्ली

श्रीधर समर्पण 


संविधान 
नेपालमा संविधान सभाबाट संविधान र दार्जिलिङमा गोर्खाल्याण्डको सपना तासको महल जस्तै हुन् । यी दुई तासको महल जुन बन्दै ढल्दै गरेका छन् । नेपालमा करिब ६ दशक पहिलेनै संविधानसभाबाट संविधानको निर्माण गर्ने सपना गर्भ धारण नगर्दै  तुहिएको मानिन्छ । फेरी ६ दशक पछि दोश्रो जनआन्दोलनको उपजको कारण संविधान सभाले गर्भ धारण गर्यो । यस पटकको गर्भधारण राजा र राजनीतिक दलहरुबिचको खटपट र जंगलमा आजित भैसकेको माओबादीले  सेफल्याण्डीङ चाहिरहेकोे बेलामा भएको हो । यीनै राजनीतिक अवयवहरुका कारणले नै दोश्रो जनआन्दोलनको उदय गरायो । विं.सं. २०६४ सालमा बनेको संविधान सभा पूर्ण संविधान बनाउन नपाउँदै २०६९ जेठ १४ गते विघटन भयो । दिल्लीमा भएको बाह्रबुँदे समझदारी पछि विकसित भएको नेपालको नयाँ राजनीतिक यात्रा बेला बेलामा दिल्लीकै संकेतमा जिकज्याक हुने स्वयं राजनीतिज्ञहरु पनि स्वीकार्छन ।
नेपालमा संविधान निर्माणको सन्दर्भमा दिल्लीको प्रष्ट चाहना के हो ? यो एउटा रहस्य बन्दै गएको छ । कान्तिपुर राष्ट्रिय दैनिकका सम्पादक सुधीर शर्माले लेखेको पुस्तक ‘प्रयोगशाला नेपाल’ मा उद्धृत एक अंशले दिल्लीको नेपाली राजनीतिलाई हेर्ने धारणामाथि प्रश्न चिन्ह खडा गरेको छ “विं.सं २०५९ सालमा ‘र’ ले जिम्मा लिएको नेपाल मिसनको एउटा उद्देश्य राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना थियो, जुन हासिल गर्न ६ बर्ष पनि लागेन । ‘र’ लाई दिएको त्यो विशेष जिम्मेवारीको उच्चस्तरिय स्रोतहरुबाट पुष्टि भए पनि त्यसको अन्तिम लक्ष्य गणतन्त्र बाहेक अरु पनि हो कि भन्ने पहेली चाहिं मेटिएन ।” साँच्चिकै दील्ली नेपालमा संविधान सभाबाट संविधान चाहन्छ की चाहदैन निकै गहकिलो प्रश्न हो यो । पछिल्लो समय नेपालको राजनीतिक कलेबरलाई नियाल्ने हो भने दिल्लीको कुनै प्रष्ट अडान देखिएको छ । कहिले एमाले, कहिले माओबादी र कहिले कांग्रेसलाई च्यापेर दिल्लीले बिरालोको बच्चा खेलाए जस्तो अष्पष्ट राजनीति गरिरहेको छ । नेपालमा कुनै पनि नयाँ ठोस निर्णयमा दिल्ली अछुतो नहुने जानकारहरुले बताउँदै आएको त्यतिनै सत्य एकातिर छ भने दिल्ली संलग्नता बिनाका निर्णयहरु छालमा देखा पर्ने तरंग जस्तै हुने पनि अर्को सत्य हो ।


गोर्खाल्याण्ड
नेपालले जस्तै दार्जिलिङले पनि कहिल्यै राम्रा नेता पाएन । आफ्नो स्वार्थ र प्रतिष्ठाको लागि सम्झौता गर्ने लाचार नेताहरुनै स्वीकार्नु पर्ने बाध्यता नेपाललाई मात्रै होइन दार्जिलिङले पनि झेल्दै आएको छ । ब्रिटिश सम्राज्यको समय सन् १९०७ देखिनै दार्जिलिङमा छुट्टै राज्यको माग गरिएको थियो आज सम्म आइपुग्दा धेरै आन्दोलनहरु नेतृत्वकर्ताको पराजित मानिसकता र अनुचित सम्झौताको कारण तुहिदै आएको छ ।
आज भन्दा ९६ बर्ष अगाडी  दार्जिलिङ र जलपाई गुडि जिल्लालाई समेटेर छुट्टै राज्यको माग गरिएको थियो । त्यतिबेला हिलमेन्स एसोसियसनले बंगालको मूख्य सचिबलाई चढाएको बिन्ति पत्रमा प्रथम पटक छुट्टै राज्यको माग गरिएको हो ।
दार्जिलिङमा केहि समय अघि मात्रै चरम उत्कर्षमा पुगेको गोर्खाल्याण्डको आन्दोलन फेरि दिल्लीसंग सम्झौता गर्दै सेलाएको छ । बेलाबेलामा आन्दोलन चरमोत्कर्षमा पुग्नु र नेताहरुको दिल्ली भ्रमण पश्चात आन्दोलन सेलाउनु एउटा नियतिनै बन्न पुगेको छ । गोर्खाल्याण्डको लागि दिल्ली एउटा चलचित्रको भिलेन भन्दा सायद कम नहोला पनि ।
यस पटक पनि साउन १४ गते देखि दार्जिलिङमा गोर्खाल्याण्डको आन्दोलन चर्किरहेको थियो जनताहरु भोक प्यास नभनि सडकमा थिए तर भदौ २० मा आन्दोलनका नेतृत्वकर्ताहरु दिल्लीमा पुगेर केन्द्र सरकार र बरिष्ठ नेताको भेटघाट पछि आन्दोलन फिर्ता लिए । नेताहरुको भारतीय गृहमन्त्री सुशिलकुमार सिन्देसंगको भेटपछि आन्दोलनले अर्कै मोड लियो । भदौ २५ मा गोरखा जनमुक्ति मोर्चाका प्रवक्ता हर्कबहादुर गुरुङले हिंसात्मक आन्दोलनले होइन पक्रिया मा गएर  गोर्खाल्याण्डको पक्षमा आवाज उठाउने जनाउदै गोर्खाल्याण्ड म्युट भयो    ।

Sunday, July 28, 2013

माइक्रोबस भित्रका कथाहरु

                   माइक्रोबस भित्रका कथाहरु 



 १. पाँच मिनेटको प्रेम कथा 


अरुको हाते घडिमा कति बजेको थियो होला थाहा भएन तर मेरो मोबाइलमा भने ठीक साढे नौ भएको थियो ।  म माइक्रोबसको अन्तिम सिटमा बसेको थिँए ।  भारतबाट राँगा कोचेर राजधानी छिरेका ट्रक जस्तो आज भने माइक्रो प्याक  थिएन । खुल्ला वातावरण थियो ।

 माइक्रोमा “जब तक ना पढे आशिक की नजर  दिदार अधुरा रहेता है” हिन्दी गीत  बजिरहेको थियो । म झ्यालबाट बाहिर  हेरिरहेको थिएँ । बलिरहेको घाम मानिसहरुलाई नमज्जा संग जिस्काइरहेको  थियो । सायद मान्छेहरु घामको अनुहार हेर्न चाहदैँनथे, त्यसैले कालो चश्मा  लगाएका होलान त्यसैले कालो छाता ओडेका होलान । एक्कासी मेरो नाकमा नमिठो परफ्युम आएर ठोक्कीयो । मैले आँखा तर्दै दाँया हेरेको मात्र के थिँए । चुपचाप मेरा ओठहरु लाई उछिन्दै आँखा पो मुस्काउन थाल्यो ।

Friday, July 19, 2013

माइ लभ स्टोरी


मनमा बसेको तस्वीर इनामेलले के मेट्न सक्थ्यो र ? 

‘तिमिलाई त केटीको हात समाउन पनि आउँदो रहेनछ’ उ एक्लै फतफताउदै थिई । म भने उसलाई सुन्दरीजलको उकालो र बाटोमा रहेका खाल्डा खुल्डीबाट बचाउन उँदो हेरेर हिँडिरहेको थिएँ । फेरी उसले फतफताउँदै उसका नरम हातहरुले मेरो हात चरप्प समातेर भनी “यसरी पो समाउने पो हो त केटीको हात” ।  म मुसुक्क हाँसेर उसको कुरालाई समर्थन जनाइदिए । उसको कुरामा म कसरि बिमती जनाउन सक्थे र । उसको त्यो बोलाई नै मलाई सबै भन्दा प्रिय लाग्दथ्यो । आफुले मन परेको मान्छेले जे गरेपनि जे भनेपनि राम्रो हुन्छ भने जस्तै ।

उसको जिद्धीपन, उसको मिजासपन सायद यहि कुराले उसलाई अरु भन्दा पृथक बनाएको थियो । हिस्सी परेका उसको अनुहार र डिम्पल परेको उसको गाला भएर होला सायद उ अरु भन्दा पृथक थिई । म उसको गालाको डिम्पल र क्याडबरी ओठहरुमा फूल्ने गुलाबी मुस्कानको भोको नै थिए । त्यसैले पनि म उसलाई बार बार हँसाउने गर्दथँे । जोक्स भनेर होस वा कविता तथा मुक्तक भनेर किन नहोस । मलाई अझैपनि याद छ त्यो दिन हिरा बुक्स सेण्टर अगाडी र व्यवस्थापन डिपार्टको छेउमा रहेको डेस्कमा बसेर उसलाई मैले सुनाएको ति कविताहरु । उसले कुनै एउटा शब्द दिन्थी मैलै तत्काल उसलाई कविता बनाएर सुनाउनु पर्दथ्यो ।

Wednesday, July 3, 2013

चिना हराएको मान्छे भित्र चिहाएर हेर्दा


     “घरमा चर्पी छैन, आची गर्न चाँहि मोटर साइकल लिएर कान्लातिर जान्छन् ।”


श्रीधर ‘समर्पण’

हाँस्य कलाकार हरिबंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ पढि सक्दा मन विनोदी र भावुक दुवै हुँदोरहेछ । एउट हास्य कलाकारको आत्मकथा पढ्दा आँखाको डिलमा केहि आएर रसाएर बिझाउँथ्यो, शब्दहरु घाँटीमानै अड्कन्थे, श्वास ढिक्का बनेर फोक्सो तिरै जम्दथ्यो । हरिमिराको मायाको संसार साँच्चिकै अनुकणीय मात्र होइन हृदयविदारक पनि छ । चिनाहराएको मान्छेले मिराको सम्झनामा लेखिएको कविता अत्यन्त मायाले भरिएको छ

एउटा सुन्दर गाँउमा, बस्थे हरिमीरा
हरि यहिं छुटिगयो, तारा भइन मीरा



हरिबंशले हसाउन मात्र होइन रुन पनि जानेका रहेछन् भनेर त्यो चिना हराएको मान्छेले बतायो । सबैको साझा मान्छे चिना हराएको मान्छेले जीवनलाई कसरी पुलकित बनाइरहेको छ, चिना हराएको मान्छेले कसरी भाग्यका रेखाहरु कोर्यो होला ? परिश्रमलाई देबता मान्ने चिना हराएको मान्छे,  सबैका मान्छे हुनुमा कस्तो पिडा र कस्तो सुख भोग हुँदोरहेछ । यी सबैलाई चिना हराएको मान्छेले क्रमिक बताँउदो रहेछ । ‘चिनाहराएको मान्छे ’ हरिबंशको मात्र आत्मकथा होला तर उनका जीवनका यस्ता पाटाहरु उजागर भएका छन् जसले सबैका साझा समस्यालाई पनि चित्रण गरेको छ ।

Saturday, June 15, 2013

लोकहितमा लोकमान

लोकमानको बारेमा राम्रो लेख्न एकजना मासिक पत्रिकाका साथीको आग्रहमा लेखिएको प्रशंसापत्र 


  • चार राजनीतिक दलहरुले संवैधानिक परिषदमा अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा नियुक्तिको लागि सिफारिस गरेपछि लोकमान सिंह कार्की निकै नै विवादको शीखरमा पुगे । आफुलाई सर्वश्रेष्ठ मान्ने नेपालका सञ्चारमाध्यमहरुमा लोकमानको बिरोधमा धाराबाहिक स्वरहरु प्रसारण र प्रकाशन भए । लोकमानलाई अलोकतान्त्रिक चरित्र पनि भनियो । तर आज सञ्चारमाध्यमहरु किन चुप छन् उनि नराम्रो नै हुन भने किन बिरोधलाई निरन्तरता दिन सकेनन् ? तर जेजस्तो भएपनि लोकमानको चुस्त कार्यशैलीले लोकमान साँच्चीकै लोकहितका सेवक हुन भनि पुष्टी गरेको छ  । 
 बैशाख २५ गते लोकमान सिंहकार्की ले अख्तियार दुरुपयोग अनुषन्धान आयोगमा नियुक्ति लिएका हुन् । लोकमान ले अदुअआ को प्रमुख आयुक्तमा नियुक्त भएकै दिन परम्परागत शैलीबाट माथि उठेर नयाँ सोच गति र नयाँ रुपमा आयोगलाई अघि बढाउने प्रण गरेका थिए । कार्कीले आयोगका कामकारवाहि पारदर्शीरुपमा अघि बढाउने मात्र प्रण गरेनन् सरकारका हरेक मन्त्रालय, विभाग तथा कार्याल एवं तिनिहरुका क्रियाकलापको निगरानी राख्ने बताएका थिए । राजनीतिक विवादमा मुछिएर अन्ततः प्रमुख आयुक्त बनेका लोकमान सिंह कार्कीले अदुअआ मा नियुक्त भए पश्चात अदुअआ को कार्यशैलीलाई तेजीलो बनाएका छन् ।
 बैशाख २६ गते आयोगका माननीय प्रमुख आयुक्त श्री लोकमान सिंह कार्की ले आफ्नो अर्थ मन्त्रालयका सचिब र सो मन्त्रालय अन्तर्गतका भन्सार , आन्तरिक राजस्व अनुषन्धान र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका प्रमुखहरुसंग छलफल कार्यक्रमा गरेका थिए । उनले मन्त्रालय तथा विभागहबाट सम्पादन भैरहेका कामहरु एवं मूल्य अभिबृद्धि कर, आयकर, अन्तशुल्क, भन्सार लगायतका करहरुको उठ्ती मा राजस्वबृद्धी गर्न र राजस्व हेर्ने विभिन्न निकायहरुलाई संवेदनशील हुनुपर्ने निर्देशन दिएका थिए । मूल्यअभिबृद्धि  कर छली गरेका व्यापारी तथा फर्महरुको विवरण पठाउन अर्थ मन्त्रालयलाई कडा निर्देशन पनि दिइसकेका छन् ।

Tuesday, May 28, 2013

जय पुस्तक जय पढन्ते ।


श्रीधर समर्पण
१.पुस्तक प्रदर्शनी
चारैतिर किताबहरुका चाङ छन् । सुन्दर स्त्रीलाई फर्कि फर्कि  हेरे जस्तै मान्छेहरु किताबहवरुलाई ओल्टाइ पल्टाई हेरीरहेका छन् । विभिन्न प्रकाशनका स्टलहरुमा पुस्तक प्रेमीहरुको किताब भित्रका किस्साहरु नियाल्न यसरी लालायित छन् कि आफ्नी सुन्दर प्रेमिकाका काला केशहरुमा औँला घुसारेर प्रेमाभाव देखाए जस्तै । यस्तै भिडमा कालो जीन्स र सेतो टमक्क परेको टिसर्ट लगाएकी एक युवती आफ्ना साथीहरुलाई भन्दछे — ओए हेर हेर यो किताब कस्तो खत्रा क्रिटिक्स यार । यस्तैमा अर्कि यौवनको रङ्गले पोतिएकी ठिटी बडो रोमाञ्चक हुँदै बोल्छे यहाँ त नोटबुक र अ वाक टु रिमेम्बर नोबेल पनि रहेछ । यो त मैले फिल्म मा पो हेरेको थिए ।
भृकुटी मण्डपमा भैरहेको पुस्तक प्रदर्शनीमा युवाहरुको भिड देख्दा युवाहरुमा पढ्ने बानीको विकास भएको रहेछ भनेर कुनै लख काट्दा कुनै फरक नपर्ला । प्रदर्शनीमा हरिबंश आचार्य दाई अर्थात चिना हराएका मान्छे सबैका हात हातमा देखिन्थे । ति हराएका हरीबंशलाई सायद सबैले च्याप्पै समातेछन् क्यारे । हजारका महङ्गा मान्छेलाई सस्तैमा भेटे पछि मान्छेहरु च्याप्पै पारेका होलान् ।
डिस्को, पब र डेटिङ्गमा प्रेमालापमा बाँधिने उमेरका केटाकेटीहरु पुस्तक प्रदर्शनीमा देख्दा भने बडो गज्जब पनि लाग्यो । अरे पुस्तक संग पनि प्रेम गाँस्न जानेका भनेर मेरो पनि फुरुङ्ग भयो चङ्गा भयो ।
२.पढन्तेका कुराहरु
माइक्रोसफ्टदेखि बाहुनडाँडा पुस्तकका लेखक जोन उडले पुस्तक प्रेमलाई यसरी प्रकट गरेका थिए – पढाई, सिकाई र नयाँ संसारको अन्वेषण प्रतिको मेरो यो प्रेमले मेरो युवा मनमा कति गहिरो गरी जरा  गाडेको छ भने म पुस्तक बिनाको बाल्यकाल कल्पना गर्नै सक्दिन । जोन उड बालक कालमा यति धेरै पढ्ने गर्दथे भने उनको कारण उनका बाबु आमालाई पनि समस्या सिर्जना भएको थियो । उनले माइक्रोसफ्टदेखि बाहुनडाँडा पुस्तकमा भनेका छन् – म कति पढन्ते भएँ भने मेरा आमा बाबाको सीमित पैसाले पढाईलाई धान्न नसक्ने भो । त्यस्तै भारतका ११ औँ राष्ट्रपती डा. अब्दुल कलाम पनि बडो पढन्ते थिए । उनको किस्सा पनि निकै घत लाग्दो छ । सामान्यतः राष्ट्रपतीहरु आफ्नो कार्यकाल सकिएपछि राष्ट्रपति भबनबाट बाहिर सर्दा सैनिकका आठ दश वटा ट्रकले सामान ओसार्ने गरेको बिगत हेर्दा ६ वटा झोलामा किताब मात्रै लिएर बाहिर निस्कने कलामको निर्णयबाट पनि उनि कति पढन्ते थिए भन्ने बुझ्न सकिन्छ ।
३.म झन दङ्ग परे
बेलुका जब म कोठामा फर्कन्छु । हिजो अस्तिभन्दा फरक नजारा थियो । हिजो  जसको हातमा मोबाइल च्याट थियो, आज उसको हातमा च्याट गर्ल छ । च्याट गर्ल भर्खर बजारमा आएको कथासंग्रह थियो । एउटा दाइको हातमा च्याट गर्ल थियो अर्को दाइको हातका हरीबंश आचार्यको चिना हराएको मान्छे थियो । अर्को भाइको हातमा विनोद चौधरीको आत्मकथा थियो भने झन अर्को साथीको हातमा राजेन्द्र थापाको उपन्यास खेलौना थियो । हिजो सम्म हातमा मोबाइल लिएर फेसबुक च्याटमा रमाउने हरु एक्कासी पुस्तकका पानाहरुमा पोखिएका अक्षरहरु संग रमाइरहेको देख्दा भने मनमनै भने अब त नेपालमा पनि युवाहरुमा आउट अफ कोर्सका पुस्तक पढ्ने संस्कार बन्दै गएछ ।
जय पुस्तक जय पढन्ते ।।

Gaindakot 1 balmaitri