माइक्रोबस भित्रका कथाहरु
१. पाँच मिनेटको प्रेम कथा
अरुको हाते घडिमा कति बजेको थियो होला थाहा भएन तर मेरो मोबाइलमा भने ठीक साढे नौ भएको थियो । म माइक्रोबसको अन्तिम सिटमा बसेको थिँए । भारतबाट राँगा कोचेर राजधानी छिरेका ट्रक जस्तो आज भने माइक्रो प्याक थिएन । खुल्ला वातावरण थियो ।
माइक्रोमा “जब तक ना पढे आशिक की नजर दिदार अधुरा रहेता है” हिन्दी गीत बजिरहेको थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । बलिरहेको घाम मानिसहरुलाई नमज्जा संग जिस्काइरहेको थियो । सायद मान्छेहरु घामको अनुहार हेर्न चाहदैँनथे, त्यसैले कालो चश्मा लगाएका होलान त्यसैले कालो छाता ओडेका होलान । एक्कासी मेरो नाकमा नमिठो परफ्युम आएर ठोक्कीयो । मैले आँखा तर्दै दाँया हेरेको मात्र के थिँए । चुपचाप मेरा ओठहरु लाई उछिन्दै आँखा पो मुस्काउन थाल्यो ।
एक छिन अघि सम्म क्रुद्ध बन्न खोजेका आँखाहरु एकाएक रोमाण्टिक पो बन्न थाले । साना जुम्लीया बच्चा जस्तै चलमलाउन पो थाले । आँखाले मष्तिष्कलाई बयान गर्न थाल्यो । मष्तिष्कले हृदयलाई । यसरी सञ्चार हँुदै थियो । प्याजी कलरको उसको कुर्ता सलवार । हावामा लहराइरहेको उसको केश राशी । यस्तो लाग्दथ्यो माइक्रोबसको झ्यालबाट आइरहेका हावाको झोंका र उसको केश राशी बिच निकै ठूलो आत्मीयता छ । त्यसैले त एक आपसमा नाचिरहेका छन् आलिङ्गन बद्ध भएर ।
घरिघरि म आफैलाई ढाँटे जस्तो गरेर उसैलाइ हेर्न थाल्छु । उसको गुलाबी ओठहरु । सायद गुलाब फूलका पत्रहरुबाट बनेको होला । केश राशी उडेर घरि घरि मलाइनै स्पर्श गर्न पो आइपुग्दथे । बदमास मनलाई कसरी पो सम्झाउन सकिन्थ्यो र । जबर्जस्ती बोल्नै पर्ने पो बनायो । बोल्नु सजिलो काम भने पक्कै थिएन मेरो लागि । हजार मान्छेहरुसंग बोल्न सकिने
तर कहिले काँही एकै जना संग बोल्न किन यति गाह्रो हुने रहेछ ? तर बदमास मनलाई जति सम्झाए पनि नसम्झे पछि बोल्छु भने मनमनै । बोल्ने त बोल्ने तर के भन्ने । यो पनि अर्को समस्या थियो । उसको नाडीमा हरियो कलरको घडि देखेँ । अब कति बज्यो भनेर सोध्ने बिचार गरेँ । मुख के आँ गरेको थिँए । गाडिले झ्याप्प ब्रेक लगायो । बल्खु आइपुगेछ । उ आफ्नो सिटबाट उठेर झरी । सायद उसको गन्तब्य यहीँ सम्मको थियो होला । अनि हाम्रो गन्तब्य पनि यहिँ सम्मको रहेछ । त्यो दिन कुुरा नभएपछि आजसम्म पनि भएको छैन । उसको प्याजी कलरको चुडिदार कुर्ता सलवारमा उसको आकृति मानसपटलमा ताजै छ ।
२. राजा नआए देश बन्दैन रे
माइक्रो गुडिरहेको छ । साँझको सात बजेको छ । बाहिर जुनकीरीको शहर जस्तो काठमाडौँ झिलमिलाइरहेको छ । माइक्रो भित्र गुम्म परेको कोठामा जस्तो हावा सहत्तर अवस्थामा छ ।कानमा सेतो झिलिक्क परेको टप लगाएको एउटा युनिभर्सिटीको विद्यार्थी जस्तो चिन्तित पारामा भन्छ देश खत्तम भो यार । जहिले पनि बन्द मात्र । कालो टिसर्ट लगाएको कपाल ठाडो पारेको अर्कोले भन्छ , हो यार काठमाडौँमा बाँच्नै नसकिने भो यो महङगीले । सगरमाथा चढ्न सजिलो होला यार यो महङगीको पहाड चढ्न नसकिने भो भन्दै व्ययङ्ग्य भाव प्रकट गर्दछ । “साला यो देशका नेता नै खराब छन् के बन्थ्यो र यो देश । छोड्दे यार आफु त विदेश सुईँइइय उडिन्छ बालै भएन ।” हल्का हाँस्छन केटाहरु ।
अर्को सेतो टप वालाले भन्छ —“राजा भएकोनै ठीक थियो गणतन्त्र आएर के भको छ र, जाबो सात हजारको जागिर खान दिनको ५० रुपैँया गाडी चढेर हिँड्नु पर्दछ ।” कालो टिसर्ट वालाले थप्छ हो यार मलाई पनि त्यस्तै लाग्छ यार “राजा नआए सम्म यो देश बन्दैन पक्का हो ।” यस भनाइसंगै उसले भोल्तेयरको भनाइ भन्न पनि छुटाउँदैन “हजार वटा मुसाबाट देश सञ्चालन हुनु भन्दा त एउटै सिंह बाट शासित भएको राम्रो ।” , सायद उसले हजार जनाले भ्रष्टाचार गर्नुभन्दा त एउटाले गरेको ठिक होला भन्ने हेतुमा भनेको हुन पर्दछ । मेरोे गन्तब्य आइपुग्छ । म गाडीबाट झर्छु ।
३. अप्रिल फूल
माइक्रो बसभित्रको कुराकानी सुन्दा अचम्म पनि लाग्छ, यो देश कृषि प्रधान देश भएको हुनाले पनि हुन सक्छ यो देशमा हरेक कुराको खेति गर्न नेपालीहरु सिपालु छन् । माइक्रो बसभित्रपनि एउटा यस्तो खेति हुन्छ त्यो हो झुटको खेति ।विशेष गरेर माइक्रो बसभित्रको मोबाइलबाट हुने कुराकानी पनि सुन्दा यस्तो लाग्छ यो देशमा सधैँ अप्रिल फूल मनाइन्छ । अप्रिल फूलको कुरा गर्दा दक्षिण कोरियामा रहँदै आउनुभएका एक युवा साहित्यप्रेमी प्रमोद सांरग दाजुको पनि नाम याद आयो । उहाँले एक कवितासंग्रह पनि निकाल्नुभएको थियो — ‘अप्रिल फूल बाँचीरहेछ मेरो देश’ । प्रमोद दाजु अप्रिल फूल मनाउनेहरु सिंहदरबारमा मात्र होइन माइक्रोबसभित्र पनि धेरै भेट्टाएको छु । माइक्रोभित्र झुटको खेतिले फूलाएका अप्रिल फूलहरु पनि रमाइला छन् ।
-काठमाडौंमा माइक्रो बसभित्र नै छ तर मोबाइलको कुराकानीमा उ भन्छ “साथी हेर न यार म इमर्जेन्सी काम परेर राती नाइट बसमा घर आको छु, एक दुई दिन तँ संग भेट हुँदैन होला ।”
-माइक्रो रेल गुडे झैँ सरर गुडिरहेको छ , फिल्मको बडो एक्टरले गर्ने भाव मुद्रा निकालेर भन्छ “हेर्न यार ट्राफिक जाममा परेर आउनै ढिलो भयो । म त समयमा हिँडेको हो यार । यो साला जामले गर्दा हो यार । ”
-बल्खुमा छे तर उ भन्छे “म त्रिपुरेश्वर आइपुगे, अब पन्ध्र मिनेटमा तेरोमा आइपुग्छु ।”
-एक दिन दक्षिणकाली जाँदै थियौँ । मेरो साथीलेनै रमाइलो कुरा गर्यो । केटा हो माइक्रो बसभित्र त लाख लाख को कुरा गर्नुं पर्दछ । मैले आश्चर्यचकित मुद्रामा भने........ किन ? उसले मुस्कुराउँदै भन्यो हामीलाई कसले चिनेको छ र ? हान्दिउँ न गफ । सबलाई लागोस न ठूलै मानिस रहेछ । आखिर गफ हान्ने भनेको त माइक्रोमानै त हो नि । केटीलाई त झन कति गफ हानियो हानियो ... केटाहरु अट्टाहास हाँसो हाँस्छन माइक्रो भित्रै ।
No comments:
Post a Comment