माइक्रोबस भित्रका कथाहरु
१. पाँच मिनेटको प्रेम कथा
अरुको हाते घडिमा कति बजेको थियो होला थाहा भएन तर मेरो मोबाइलमा भने ठीक साढे नौ भएको थियो । म माइक्रोबसको अन्तिम सिटमा बसेको थिँए । भारतबाट राँगा कोचेर राजधानी छिरेका ट्रक जस्तो आज भने माइक्रो प्याक थिएन । खुल्ला वातावरण थियो ।
माइक्रोमा “जब तक ना पढे आशिक की नजर दिदार अधुरा रहेता है” हिन्दी गीत बजिरहेको थियो । म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । बलिरहेको घाम मानिसहरुलाई नमज्जा संग जिस्काइरहेको थियो । सायद मान्छेहरु घामको अनुहार हेर्न चाहदैँनथे, त्यसैले कालो चश्मा लगाएका होलान त्यसैले कालो छाता ओडेका होलान । एक्कासी मेरो नाकमा नमिठो परफ्युम आएर ठोक्कीयो । मैले आँखा तर्दै दाँया हेरेको मात्र के थिँए । चुपचाप मेरा ओठहरु लाई उछिन्दै आँखा पो मुस्काउन थाल्यो ।