Monday, January 9, 2017

नारायणी माविमा फेरी जग्गाको विवाद ( के थियो सहमति ? हेर्नुहोस )




श्रीधर उपाध्याय /सरु चापागाईं
गैँडाकोट । जग्गाको विवादका बीच नारायणी मावि गैँडाकोट ७ मा  विद्यालय कम्पाउन्ड तथा प्रवेशद्वार शिलन्यास समारोह सम्पन्न भएको छ । नारायणी माविको उत्तर तर्फ गेट अगाडीको जग्गा लामो समयदेखी विवादित बन्दै आएको छ । विवाद पटक पटक बल्झने र सहमतिमा सल्टने गरेको छ । अहिले कम्पाउन्ड निर्माणको प्रक्रिया अघि बढेपछि विवाद फेरी सतहमा आएको छ । 
गैँडाकोट ७ ग कित्ता नम्बर २० को उक्त जग्गामा १३ बाई ९ को घर बनाइ करिब २ दशक यता होमनाथ सापकोटाको परिवार बस्दै आएको छ । विद्यालयको संरक्षणका लागि उक्त परिवारलाई विद्यालयले नै उक्त स्थानमा बस्ने अनुमति दिदै आएको विद्यालयको भनाई छ । विद्यालयका अनुसार उक्त जग्गामा बनेको घर आधा भाग पूर्वपश्चिम राजमार्गको सडकमा पर्ने र आधा भाग विद्यालयमा पर्ने विद्यालयको दाबी छ । अहिले कम्पाउन्ड निर्माणमा सापकोटा परिवारको तर्फबाट अवरोध आएको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर पाण्डेले बताए । पाण्डेले छलफल भइरहेको र छिट्टै सहमतिमा पुगिने समेत बताएका छन् । छलफल सकरात्मक रहेको र सापकोटा परिवारले पनि सकरात्मक रुपमा लिएको अध्यक्ष पाण्डेले  बताए । 

वि सं. २०६६ साल मंसिर २३ गते जयश्री खोलाको पुल भत्किदा आफ्नो घर भत्किएपछि सो जग्गामा घर बनाएर बस्न र प्रति महिना ५० रुपैँयाका दरले भाडा तिर्ने गरी गैँडाकोट वाड नं. का मेघनाथ सापकोटाका छोरा होमनाथ सापकोटाले विद्यालयलाई निवेदन दिएका थिए । सो निवेदनमा विद्यालयलाई आवश्यक परेको खण्डमा एक महिना पहिला सूचित गर्नुपर्ने उल्लेख गरिएको थियो । यस्तै निवेदनमा वि सं. २०५५ सालदेखि मेघनाथ सापकोटाले बनाएको घरका विषयमा सरकारले व्यवस्था नगरेसम्म बस्न पाउँ भनि उल्लेख गरिएको विद्यालयका अध्यक्ष पाण्डेले बताए । 


सापकोटाले विद्यालय समक्ष राखेको निवेदन उपर सोही वर्ष मंसिर २४ गते सापकोटालाई भाडामा बस्न दिने विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको थियो । तत्कालिन विद्यालय समितिका अध्यक्ष गंगाबहादुर पाण्डेको अध्यक्षतामा बसेको बैठकको निर्णयमा निवेदन उपर घर बनाउन दिने, विद्यालयलाई आवश्यक परेको खण्डमा २१ दिन पहिले विद्यालयले हट्न आग्रह गर्ने र सो उपर हट्नु पर्ने उल्लेख गरिएको विद्यालयको भनाइ छ । यही निर्णयलाई आधार मानेर होमनाथ सापकोटाले मासिक रुपमा भाडा तिरेको विद्यालयले जनाएको छ । 


अहिले विद्यालयको पर्खाल निर्माण सम्बन्धमा वि सं. २०७३ पौष ८ गते विद्यालय व्यवस्थापन समिति, अभिभावक एवं समाजसेवीहरुको उपस्थितिमा बसेको बैठकले २०६६ मंसिर २४ गतेको निर्णयलाई कायम राख्दै हाललाई पूर्व तर्फको बाटो राजमार्गबाट साढे ४ मिटर छोडी साँधमा पर्खाल लगाउने निर्णय गरेको छ । 

बाबु मेघनाथ सापकोटा र छोरा होमनाथ सापकोटाले भने सरकारले कुनै व्यवस्था नगरेसम्म आफूहरु डिक नचल्ने बताएका छन् । सरकारले व्यवस्था गरेको दिनमा अवरोध नहुने समेत उनीहरुको तर्क छ । होमनाथ सापकोटाले विजय खबरपत्रिकासंग भने “स्कूलले जवर्जस्ती हडप गर्छ भने, अन्यत्र भएका विद्यालय, मठमन्दिरमा भएकालाई पनि हटाए हुन्छ नी हामी सोझालाई मात्र किन दबाब दिने ”
यता आइतबार विद्यालयको कम्पाउन्ड तथा प्रवेशद्वार शिलन्यास समारोहमा सहभागि हुन विद्यालयमा आइपुगेका नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले विद्यालयले आफ्नो काम स्वतःस्फूर्त रुपमा अघि बढाउन सुझाब दिएका छन् । रानाले भने “भाडामा बसेको मान्छेले घरै मेरो हो जस्तो व्यवहार गर्न कहाँ पाइयो र ? विद्यालयका लागि प्रशासनले आवश्यक सहयोग गर्नेछ ।”


Saturday, October 29, 2016

कसरी पुजा गर्दा लक्ष्मी प्रसन्न हुन्छिन् ? (लक्ष्मीपूजा गर्ने सजिलो तरिका)



श्रीधर उपाध्याय
गैँडाकोट । कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा गरी तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाइँदैछ । आजका दिन घर वरिपरि सरसफाइ गरी सिंगारेर बत्तिले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मीले सधैँ बास गर्छिन् र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । धेरैलाई लक्ष्मी पूजा कसरी गर्ने भन्ने द्धिविधा छ । तर चिन्ता नगर्नुहोस । विधिपूर्वक लक्ष्मीजीको पूजा गर्दा लक्ष्मीजी प्रसन्न हुने धार्मिक कथन छ । 

आज लक्ष्मीपूजा गर्ने सजिलो तरिका 

सर्वप्रथम एक चौकीमा रातो बस्त्र विच्छ्याउनुहोस ।

गणेश, लक्ष्मी र सरस्वती माता भएको तस्वीर चौकीम राख्नुहोस ।

चौकीमा राखिएको फोटोको अगाडि पूजाको थाली राख्नुहोस ।

पूजाको थाली मािथ पनि रातो बस्त्र विच्छ्याउनुहोस ।

अब थालीमा सुनचाँदीका अथवा केही डबल (सीक्का) राख्नुहोस ।

अब अर्को थालिमा ११ अथवा २१ वटा दियो राख्नुहोस ।

थालिको बीचमा एक स्वस्तीक चिन्ह राख्नुहोस ।

एउटा चारमुख भएको दियो थालिको बीचमा स्वस्तीक चिन्हमाथि राख्नुहोस ।

सबै दियोमा थोरै थोरै चिनी राख्नुहोस ।

अब सबैभन्दा पहिले चारमुखे भएको दीप बाल्नुहोस ।

यसपछि सबै दियो बाल्नुहोस ।

गणेशजी, लक्ष्मीजी, र सरस्वतीजीलाइ तीलक लगाइदिनुहोस ।

चामलको दाना पनि तिलकसंगै लगाउनुहोस ।

यसपछि सुन चाँदी तथा अन्य सिक्कालाइ पनि पुजन गर्नुहोस ।

यसपछि सबै दियोको पूजा गर्नुहोस । अबिर चामलले

अब गणेश लक्ष्मीजीको पञ्चोपचार पूजा गर्नुहोस ।

दियो हातमा लिएर गणेशजी र लक्ष्मीजीलाई देखाउनुहोस ।
यसपछि धुपले आरती गर्नुहोस ।

यसपछि सुगन्धित पुष्प चढाउनुहोस ।

यसपछि नैवेद्य देखाउनुहोस ।

अन्त्यमा फेरी पुष्प फुल चढाउनुहोस ।

अब थालीमा रहेको चारमुखे र अन्य सात दियो थालीमा छोडेर । बाँकी दियो घरका मुलद्धारमा लेगर राख्नुहोस ।

अब लक्ष्मीजीको मन्त्र “ श्रीं स्वाहा” कम्तिमा १०८ पटक जप गर्नुहोस ।

अब हातमा दियो लिएर महालक्ष्मी जीको बन्दना गर्नुहोस । बन्दना सुन्न तलको लिकं क्लीक गर्न सक्नुहुने छ ।


अन्त्यमा लक्ष्मीजीको चरणमा आफूलाई समर्पित गर्नुहोस र साष्टाङ्ग गर्नुहोस ।

Tuesday, September 20, 2016

चौविस घण्टा पानी दिन योजना बनाउँदै छाँै – अध्यक्ष पौडेल




जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोट नगरपालिका वाड नं. १, २, ४ मा खानेपानी उपलब्ध गराउने सोचले संञ्चालित एउटा खानेपानी आयोजना हो । तत्कालिन श्री ५ को सरकारका संसद स्व. सूर्यभक्त अधिकारीको पहलमा वि.सं. २०४९ साल बैशाख चण्डिपूर्णिमाको दिनदेखि प्रारम्भिक सर्वे गरिएको थियो । वि.सं. २०५७ सालमा आयोजनाको निर्माण कार्य सम्मान भइ वि.सं. २०५८ साल वैशाख ८ गतेका दिन गैँडाकोट गाविसको रोहवरमा तत्कालिन समितिलाई स्वामित्व हस्तान्तरण भएको थियो । जिल्ला जलस्रोत कार्यालयमा वि.सं. २०५८ साल बैशाख १४ गतेबाट विधिवत रुपमा दर्ता कायम भै स्वायत्त संस्थाको रुपमा सञ्चालन हुँदै आएको छ । गैँडाकोटमा खानेपानीको चरम अभाव भएको समयमा स्थापना भएको जलुकेले अहिले दशहजार भन्दा बढी उपभोक्तालाइ सेवा दिदै आएको छ । यस संस्थाको भावि कार्ययोजना र आसन्न साधारणसभा तथा अधिवेशनका सन्दर्भमा रहेर जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गैँडाकोटका अध्यक्ष लालमणि पौडेल सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ श्रीधर उपाध्यायले गर्नुभएको कुराकानीको सम्पादित अंश । 

Monday, September 19, 2016

गैँडाकोटमा क्षयरोग विकराल बन्दै



श्रीधर उपाध्याय
गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र क्षयरोगको समस्या विकराल देखिएको छ ।  आर्थिक वर्ष २०७२÷७३ मा गैँडाकोटमा करिब ९६ जनामा क्षयरोगको संक्रमण भेटिएको छ । गँैडाकोट स्वास्थ्य चौकीमा ६१ जना , पिताँैजी स्वास्थ्य चौकीमा १५ जना र अमरापुरी स्वास्थ्य चौकीमा २० जना नयाँ क्षयरोगी भेटिएका हुन् । यस आर्थिक वर्षको श्रावण  यता मात्रै गैँडाकोटका तीन स्वास्थ्य  चौकीमा १५ जना नयाँ विरामी दर्ता भएका छन् । गैँडाकोट स्वास्थ्य चौकीमा ९ जना, पिताँैजी स्वास्थ्य चौकीमा ३ जना र अमरापुरी स्वास्थ्य चौकीमा ३ जना नयाँ क्षयरोगी भेटिएका छन् । 

गँैडाकोट स्वास्थ्य चौकीका प्रमुख इन्द्रराज शर्माका अनुसार आर्थिक वर्ष २०७२÷७३ को अन्तिम चौमासिकमा मात्रै लक्ष्यको ८२.६ प्रतिशत नयाँ रोगी भेटिएका थिए । शर्माका अनुसार अघिल्लो आर्थिक वर्षमा भेटिएका नयाँ विरामी मध्यै सबै भन्दा बढि फोक्सोमा क्षयरोग लागेका विरामी भेटिएको पाइएको छ । जातियताका आधारमा तथ्यांकलाइ विश्लेषण गर्दा विरामी भएका मध्ये जनजाति बढी देखिएको समेत प्रमुख शर्माले बताए । 


पितौँजी घाट स्वास्थ्य चौकीका प्रमुख यम बहादुर क्षेत्रीले पितौजी स्वास्थ्य चौकीमा फोक्सोमा हुने क्षयरोग बढि देखिएको बताए । साउन महिना यता मात्रै तीन जना नयाँ विरामी थपिएका मध्ये दुई जनामा फोक्सोको क्षयरोग देखिएको छ । एक आर्थिक वर्षमा १४ जना नयाँ विरामी पत्ता लगाउने लक्ष्य अनुरुप अघिल्लो आर्थिक वर्षमा ५६ प्रतिशत विरामी देखिएको प्रमुख क्षेत्रीले बताए ।  उता अमरापुरी स्वास्थ्य चौकीमा अघिल्लो आर्थिक वर्षमा लक्ष्य भन्दा बढी क्षयरोगका विरामी भेटिएका छन् । एघार जनाको लक्ष्य रहेको थियो भने कुल २० नयाँ विरामी भेटिएको स्वास्थ्य चौकी प्रमुख रेशम पौडेलले बताए । यस्तै पौडेलका अनुसार अघिल्लो आर्थिक वर्षमा अमरापुरी स्वास्थ्य चौकीमा ११ जनामा फोक्सोमा लाग्ने क्षयरोग भेटिएको छ । 

गैँडाकोटका उद्योगमा पौने दुई करोड बक्यौता




श्रीधर उपाध्याय

गैँडाकोट, २८ भदौ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट शाखाले पुराना उद्योगबाट पौने २ करोड रुपैँया उठाउन बाँकी रहेको जनाएको छ । शाखा प्रमुख बलराम थापाका अनुसार नयाँ ग्राहकको बक्यौता रकम ठूलो नभएपनि पुरानै बक्यौता उठाउन बाँकी रहेको हो । थापाले भने “फोनबाट, सूचनाबाट बारम्बार ताकेता गरेपछि साना ग्राहकको बक्यौता रकम उठ्ने गरेको छ, यो ठूलो समस्या पनि छैन, २०–३० हजार बक्यौता भएका ५०–६० जनामात्रै ग्राहकहरु रहेका छन् ।” ग्राहक, उद्योग, व्यापारिक संस्थाबाट गैँडाकोटमा एकलाख भन्दा बढी बक्यौता  रहेको छैन् । पुरानो बक्यौताको रुपमा भृकुटी कागज कारखान, नोवानेट, सिल्भर फाइबर, एनपी टेक्सटाइल लगायतका पुराना उद्योगका बक्यौता रकम गरी करिब पौने दुई करोड उठाउन बाँकी रहेको छ । विद्युत प्राधिकरण कावासोतीका अनुसार भृकुटी कागज कारखानको मात्रै करिब  एक करोड बक्यौता रहेको छ । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रमुख थापा भन्छन् – “यी सबै चारपाँच वर्षअघिका उद्योगका बक्यौता हुन् । बक्यौताका कागजपत्र कावासोती पठाइससकिएको छ । यसको काम माथिबाटै भैरहेको छ । पुराना उद्योगहरुको लाइन काटिसकेका छौँ ।” गैँडाकोट क्षेत्रमा थोरै रकम भएका बेलामा नै लाइन काटिदिन ग्राहकहरुले आफैले अनुरोध समेत गर्ने गरेको थापाले बताए  । गँैडाकोट १ देखि ९ थुम्सीसम्म गैँडाकोट शाखाको कार्य क्षेत्र सानो रहेको छ । यस क्षेत्रमा करिब साढे सातहजार ग्राहक रहेका छन् । 

Monday, July 4, 2016

चालु आर्थिक वर्षमा नवलपरासीमा १९ सहकारी एकीकरण


श्रीधर उपाध्याय

गैँडाकोट, २१ असार । अहिले सहकारीहरू एकीकरण पक्रियामा जान सुरु गरेका छन् । कतिपय सहकारी भने एकीकरण भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्रै नवलपरासीमा १९ वटा सहकारी बीच एकीकरण भएको डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वासुदेव भट्टराईले बताए । उनका अनुसार नवलपरासीमा अहिलेसम्म ३४ वटा सहकारी एकीकरण भइसकेका छन् । 


पछिल्लो समय डिभिजन सहकारी कार्यालय नवलपरासीमा एकीकरणको कामले तीव्रता पाएको छ । अहिले पनि नवलपरासी देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस र लाङ्घाली कृषि स.स.लि एकीकरणका लागि स्वीकृति लिएका छन् । यसैगरी रम्भादेवी साकोस र सनराइज साकोस एकीकरणका लागी डिभिजनमा स्वीकृति लिएका छन् । यसैगरी सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोस पनि तयारीमा रहेका छन् । यस्तै  प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोस पनि एकीकरणका लागि स्वीकृति लिएर बसेको डिभिजनले जनाएको छ । यता गैँडाकोट २ को आमा साकोसले पनि एकीकरण प्रक्रियामा जानका लागि गत साता विशेष साधारण सभा बोलाएको थियो ।  आमा साकोसले पनि गैँडाकोट साकोससँग एकीकरण पक्रियाका लागि छलफल सुरु गरेको स्रोतले जनाएको छ ।

Gaindakot 1 balmaitri