श्रीधर उपाध्याय
गैँडाकोट, २१ असार । अहिले सहकारीहरू एकीकरण पक्रियामा जान सुरु गरेका छन् । कतिपय सहकारी भने एकीकरण भइसकेका छन् । चालु आर्थिक वर्षमा मात्रै नवलपरासीमा १९ वटा सहकारी बीच एकीकरण भएको डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वासुदेव भट्टराईले बताए । उनका अनुसार नवलपरासीमा अहिलेसम्म ३४ वटा सहकारी एकीकरण भइसकेका छन् ।
पछिल्लो समय डिभिजन सहकारी कार्यालय नवलपरासीमा एकीकरणको कामले तीव्रता पाएको छ । अहिले पनि नवलपरासी देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस र लाङ्घाली कृषि स.स.लि एकीकरणका लागि स्वीकृति लिएका छन् । यसैगरी रम्भादेवी साकोस र सनराइज साकोस एकीकरणका लागी डिभिजनमा स्वीकृति लिएका छन् । यसैगरी सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोस पनि तयारीमा रहेका छन् । यस्तै प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोस पनि एकीकरणका लागि स्वीकृति लिएर बसेको डिभिजनले जनाएको छ । यता गैँडाकोट २ को आमा साकोसले पनि एकीकरण प्रक्रियामा जानका लागि गत साता विशेष साधारण सभा बोलाएको थियो । आमा साकोसले पनि गैँडाकोट साकोससँग एकीकरण पक्रियाका लागि छलफल सुरु गरेको स्रोतले जनाएको छ ।
यसैबीच गैँडाकोटमा शनिबार ९४ औँ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोटमा आयोजित विभिन्न कार्यक्रममा वक्ताहरुले सहकारीको गुणस्तरीय विकासका लागि एकै उद्देश्य भएका सहकारीबीच एकीकरणको आवश्यकता भएको कुरामा जोड दिएका थिए ।
अर्थविद् एवं सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीका स्वकीय सचिव इन्द्र शर्मा ढुङ्गानाले सहकारी एकिकरणका लागि नयाँ बन्न लागेको ऐनले पनि प्रशस्त मार्गदर्शन गरेको बताएका छन् । गैँडाकोटमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने – “नयाँ ऐनले एकीकरण प्रक्रियालाई झन सहजता बनाउँछ ।” यस्तै नेफ्स्कुनका केन्द्रीय सदस्य इन्द्रराज ज्योति पौडेलले पनि सहकारीहरुको एकीकरण अति आवश्यक भएको बताए । गैँडाकोटबाट नै एकिकरण अभियानको सुरुवात भएको बताउदैं पछिल्लो समय गैँडाकोटमा एकीकरण प्रक्रियाले तीव्रता पाएको समेत बताए । पौडेलका अनुसार एउटै कार्यक्षेत्र भित्र ५० प्रतिशत सेयर सदस्य दुई सहकारीमा जोडिएका छन् भने एकीकरण पक्रियामा जानु उपयुक्त हुन्छ । यस्तै कस्ता सहकारीबीच एकीकरण हुनु आवश्यक छ त ? पौडेल भन्छन् –“ सहकारी सञ्चालन खर्च भार परेको छ भने, संस्थागत पुँजी ५ प्रतिशत भन्दा कम छ भने, एकीकरणमा जानु उपयुक्त हुन्छ ।” यस्तै सहकारीकर्मी गोविन्द सुवेदी भन्छन् “थौरै सदस्य भएका सहकारीहरु एकीकरण हुनु आवश्यक छ, थोरै सदस्य भएका सहकारीले सदस्यलाई पनि आत्मनिर्भर बनाउन कठिन हुन्छ, यस कारण सदस्यलाई आत्मनिर्भर बनाउनका लागी पनि सहकरीबीचको एकीकरण आवश्यक छ यो कुरा बुझ्नु
पर्दछ ।” नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लिमटेडका सस्ंथापक अध्यक्ष एंव सहकारी समन्वय मञ्च गैँडाकोटका सस्ंथापक अध्यक्ष खेमराज सापकोटालाई अहिले सहकारीहरुको सेवा खस्कीदै गएकोमा चिन्ता लाग्न थालेको छ । उनलाई पनि अब सहकारी एकीकरण हुनु आवश्यक भइसकेको जस्तो लाग्छ, उनी भन्छन् “सहकारीले अब गुणस्तरीय सेवा कसरी दिन सकिन्छ भन्ने तर्फ चिन्तन गर्नुपर्दछ, यो चिन्तनमध्ये एकीकरण पनि एक हुन सक्छ” ।
गत शनिबार गैँडाकोटको किसान साकोससहित तीन सहकारी पनि एकीकरण भए । एकीकरण कार्यक्रममा आइपुगेका नेपाल बचत तथा ऋण सहकारी संघ नेफ्स्कुनका केन्द्रीय अध्यक्ष ऋषिराज घिमिरेले समान
उद्देश्य बोकेका सहकारी संस्था बीच एकीकरण अहिलेको आवश्यकता रहेको बताए । यस्तै गैँडाकोटका सहकारीहरुले शनिबार आयोजना गरेको मानव सांग्लो कार्यक्रममा समेत घिमिरेले वित्तिय संस्थासँगको प्रतिष्पर्धाका लागि पनि सहकारीहरु एक भएर अघि बढ्नु पर्ने बताए । एकीकरण पश्चात् गुणस्तरीय विकासका लागि व्यवहारिक बलसमेत संस्थाले प्राप्त गर्न सक्ने घिमिरेको बुझाइ रहेको छ ।
किसान साकोसका अध्यक्ष गोपालप्रसाद गौतम भन्छन् “ राज्यले पनि सन् २०१६ लाई सहकारी एकीकरण वर्षको रुपमा मनाउने कुरा छ, यसले पनि एउटा सन्देश दिन्छ, कि अब सहकारीहरुको एकीकरण भएर गुणात्मक विकासका लागि अघि बढ्नुपर्दछ।”
सहकारीको एकीकरणको क्रममा देखिने चुनौती भनेको साना संस्थाहरुमा बसेर काम गरेका व्यक्तिहरु ठूलो संस्थामा हुँदा संस्थाभित्र एकताभाव, पारस्परिक विश्वासमा संकट आउन सक्ने भएकाले यसमा बैलेमा सचेत हुनुपर्ने पनि सहकारीविद्हरुको सुझाव रहेको छ । साथै साना संस्थाहरुको आफ्नो पहिचान र अस्तित्व मेटिनेसम्मको चुनौतीसम्म पनि हुन सक्ने भएकाले यसमा बेलैमा सचेत हुनुपर्ने समेत सहकारीकर्मीको बुझाइ रहेको छ ।
नवलपरासीमा अहिले करिब ४ सय ९३ सहकारी रहेका छन् । २ सय ५३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी र २९ वटा दुग्ध सहकारी रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । डिभिजनका अनुसार करिब ९८ करोडको सेयर पुँजी नवलपरासीमा रहेका सहकारीमा छ । तीन अर्व ६४ करोडको बचत गर्ने नवलपरासीका सहकारीले ८२ करोडको बाह्य लगानी रहेको छ । नवलपरासीमा रहेका सहकारीमा करिब करिब १२ अर्बको कारोबार हुन थालेको छ । २०७३
No comments:
Post a Comment