Tuesday, April 19, 2016

नवलपरासीका विद्यालयमा अङ्ग्रेजी माध्यमको मोह


श्रीधर उपाध्याय
नवलपरासी । आइतबार दिउँसो साढे २ बजे गैँडाकोट ६ की शारदा ढकाल कालिका उच्च मावि गैँडाकोट पुगेकी थिइन् । उनले आफ्नो बच्चालाई अंग्रेजी माध्यमबाट पढाउनकै लागि कालिका उच्च मावि पुगेको बताइन् । शारदाले भनिन् “नीजि विद्यालयमा पढाउन महङ्गो शुल्क तिरेर छोराछोरी पढाउनु बाध्यता हो तर अब यस्तो बाध्यता रहेन, सरकारी विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाई गर्न  सुरु गरेका छन्, यो राम्रो कुरा हो।” अहिले धेरै जसो अभिभावकहरुले सरकारी विद्यालयमा सुरु भएको अंग्रेजी माध्यमको पढाईलाई सकरात्मक रुपमा लिएका छन् । 

नवलपरासीमा केही वर्ष यता धेरै विद्यालयहरुले अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गरेका छन् । सरकारी विद्यालयको गुणस्तरीयता, सस्तो शुल्क, अंग्रेजी माध्यमको पढाईका कारण विद्यार्थी र अभिभावकको क्रेज बढेको अभिभावकले बताए । 
अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेका नवलपुर क्षेत्रका भीमसेन आर्दश उच्च मावि रामबास, शिब उच्च मावि कावासोती, नेपाल उच्च मावि केउरेनी, जनता उच्च मावि शहिदनगर, लोकसेवा मावि बसन्तपुर, वरचुली उच्च मावि रजहर, त्रिभुवन उच्च मावि ढोकी, नवजागरण उच्च मावि चोरमारामा विद्यार्थीको आकर्षण बढेकोे छ । यता गँैडाकोट क्षेत्रमा गैँडाकोट १ मा रहेको नेपाल राष्ट्रिय शमसेर आदर्श मावि, जनक उच्च मावि र कालिका उच्च मावि पनि अंग्रेजी माध्यममा विद्यार्थीको आकर्षण बढेको विद्यालय स्रोतले जनाएको छ । 
गँैडाकोट १ मा रहेको श्री नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयमा अंग्रेजी माध्यममा पढ्न चाहने विद्यार्थी र पढाउन चाहने अभिभावकको आकर्षण बढेको विद्यालयका प्रधानाध्यापक इन्द्र राज भट्टराईले बताए । नेराशमा नर्सरीकक्षादेखि १० कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई हुँदै आएको छ । अघिल्लो बर्ष विद्यालयमा करिब तीन सय विद्यार्थी अंंग्रेजी माध्यममा अध्ययन गरेका प्रअ भट्टराईले बताए । अहिले पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको संख्यामा बृद्धि हुने उनले बताए । भर्ना अभियानको पहिलो दिन आइतबार मात्रै विद्यालयमा करिब एक सय विद्यार्थी अंग्रेजी माध्यमका लागि भर्ना भएको भट्टराईको भनाई छ । यस विद्यालयबाट कक्षा १० का कुल ७२ विद्यार्थी मध्ये अंग्रेजी माध्यमबाट मात्रै ३२ जना विद्यार्थीले यस वर्ष एसएलसीमा सहभागि भएका छन् । विं.सं. २०६५ सालमा भएको अभिभावकको भेलाको म्याण्डेड अनुसार नर्सरीका विद्याथीका लागि अभिभावकबाट मासीक एकसय रुपैँया सहयोग मात्र लिने गरेको उनले बताए । 
गैँडाकोटकै अर्को विद्यालय जनक उच्च माविमा पनि विद्यार्थी भर्नाको चाप रहेको विद्यालयका प्रअ गोविन्द प्रसाद जोशीले बताए । जनक उच्च माविमा विं.सं. २०६४ साल देखि अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन हुँदै आएको छ । गत वर्ष मात्र मात्रै जनक उच्च माविमा छ सय ५० विद्यार्थी अंग्रेजी माध्यममा भर्ना भएको र यस वर्ष केही बढोत्तरी हुने अनुमान गरेको प्रअ जोशीको भनाई छ । जनक स्कूलले पनि अभिभावकको निर्णय अनुसारनै सहयोग शुल्क लिने गरेको जोशीले बताए । 
यस्तै गैँडाकोटको कालिका उच्च माविमा पनि अंग्रेजी पढ्ने विद्यार्थीको आकर्षण देखिन्छ । आइतबार दिउँसो २ बजेसम्म कालिका उच्च माविमा पाँच सय विद्यार्थी भर्नाका लागि आएका थिए । अंग्रजी माध्यममा बढि अभिभावकको रुचि देखिएको विद्यालयका प्रधानाध्यापक कमल सुवेदीले बताए । निजि विद्यालयबाट भर्नाका लागि आउने गरेको उनको भनाई छ । निजि विद्यालयको महङ्गो शुल्क र उच्च शिक्षामा छात्रवृत्ति पाउने आशाका कारण सरकारी स्कूल अभिभावक र विद्यार्थीको रोजाई बन्ने गरेको सुवेदीको भनाई छ ।  अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीको शुल्कका विषयमा अभिभावकको निर्णय अनुसार सहयोग मात्रै लिने गरेको समेत उनले बताए ।
रजहरको बरचुली उच्च माविमा पनि नेपाली माध्यममा पढ्ने विद्यार्थी भन्दा अंग्रेजीमाध्यममा पढ्ने विद्यार्थीको बढि आएको विद्यालयका प्रअ चन्द्रदेव तिवारीले बताए । उनका अनुसार आइतबारसम्म विद्यालयमा करिब दुई सय विद्यार्थी अंङ्ग्रेजी माध्यममा भर्नाका लागि आएका छन् । यस शैक्षिक सत्रमा साढे  चार सय भन्दा बढि विद्यार्थी भर्ना हुने अनुमान गरेको उनले बताए । नेपाली माध्यममा भने तीन सयको हाराहारीमा हुन सक्ने तिवारीले बताए । गत वर्ष चार सय २० विद्यार्थी अंग्रेजी माध्यममा अध्ययनरत रहेका थिए । अंग्रेजी भाषा अन्तर्राष्ट्रिय भाषा भएको कारण धेरै अभिभावकको चाहना पनि अंग्रेजी  भएकाले यसको मोह बढेको तिवारीको भनाई छ । नीजि विद्यालयबाट पनि विद्यार्थी आउने गरेको उनले सुनाए ।  
यस्तै केउरेनीको नेपाल उच्च माध्यामिक विद्यालयमा समेत नेपाली माध्यममा भन्दा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी बढि रहेको विद्यालयका प्रधानाध्यापक शिव देवकोटाले बताए । आइतबारसम्म विद्यालयमा अंग्रेजी माध्यमका लागि करिब पाँच सय विद्यार्थी भर्नाका लागि आएको उनले बताए । अघिल्लो बर्ष पाँच सय ६५ विद्यार्थीले अंग्रेजी माध्यममा अध्ययन गरेका थिए । चालु शैक्षिक सत्रमा करिब सात सय विद्यार्थी अंग्रेजी माध्यममा भर्ना हुने अनुमान गरिएको प्रअ देवकोटाको भनाई छ । वि सं. २०६६ साल देखि अंग्रेजी माध्यममा सुरु गरेको नेपाल उच्च माविका अंग्रेजी माध्यमका विद्यार्थीले गत एसएलसीमा सहभागि भएका थिए । जसमा शत प्रतिशत विद्यार्थी उत्तीर्ण भएको प्रअ देवकोटाको भनाई छ । पठनपाठन सञ्चालनका लागि विद्यार्थीसंग कुनै शुल्क नलिएको तर पठनपाठन लागि दाताहरुबाट प्राप्त सहयोगले कक्षा सञ्चालन गर्ने गरेको उनको भनाई छ । 

गैँडाकोट, रजहर र देवचुली क्षेत्रमा मात्रै होइन कावासोतीमा रहेको सरकारी विद्यालय शिब उच्च माध्यामिक विद्यालयमा पनि अँग्रेजी माध्यममा पढ्ने विद्यार्थीको उस्तै आकर्षण रहेको छ । भर्ना अभियानको पहिलो दिन आइतबारमात्रै विद्यालयमा करिब छ सय विद्यार्थी नयाँ भर्नाका लागि आएको विद्यालयका प्रधानाध्यापक  चुडामणि शर्माले बताए । उनका अनुसार चार सय विद्यार्थी आन्तरिक तर्फको भर्नाका लागि आएको र दुई सय विद्यार्थी प्रवेश परिक्षाका लागि आएका हुन् । १२ वर्ष अघि नर्सरी कक्षाबाट सुरु भएको अंग्रेजी माध्यमको पठनपाठन अहिले १० कक्षा सम्म पुर्याइएको छ ।  नेपाली अंग्रेजी दुबैमाध्यममा पढाउँदै आएको बताउँदै प्रअ शर्माले भने  “एसएलसीमा जिल्ला प्रथम भएका थियौँ, दुबै माध्यमको कुरा गर्दा ९१ प्रतिशत विद्यार्थी पास गराएका थियौँ, अङ्ग्रेजी माध्यममा भने शत प्रतिशत पास गराउन सफल भएका छौँ, गत शैक्षिक सत्रमा ८६ प्रतिशत विद्यार्थी पास भएका छन्।”  विद्यालयमा गत शैक्षिक सत्रमा एक हजार ९७ विद्यार्थी थिए भने अंग्रेजी माध्यममा मात्रै पाँच सय ७० विद्यार्थी  थिए । यस शैक्षिक सत्रमा पनि अंङ्ग्रेजी माध्यममा धेरै विद्यार्थी भर्नाका लागि आएको पहिले भन्दा बढि भर्ना हुने अनुमान गरिएको शर्माले बताए । शिव उच्च माविले प्राथमिक सात कक्षा सम्मका विद्यार्थीका लागि रेडक्रश शुल्कका रुपमा रु५० मात्रै लिने गरेको र सो भन्दा माथिको कक्षाका लागि तीन सय देखि सात सयसम्म लिएको प्रअ शर्माले जानकारी दिए । विद्यालयको गुणस्तरीयता र प्राथमिक तहमा अंग्रेजी माध्यम मात्र भएको कारण पनि विद्यार्थीको आकर्षण भएको उनको भनाई छ । 
जिल्ला शिक्षा कार्यालय नवलपरासीले पनि भर्ना अभियान तथा पुस्तक वितरण गरिरहेको छ । अझै पनि २ प्रतिशत विद्यार्थी विद्यालयको पहुँचबाट बाहिर छन् र नेपालमा ११ लाख बालबालिका बन्चित छन् ।  शिक्षामा विद्यार्थीको पहुँच र गुणस्तरीय शिक्षाको लागि सरकारी विद्यालयको स्तरोन्नती, अंग्रेजी माध्यमको लागि नीतिगत व्यवस्था र सहज बाटोका लागि सरकारको पहलकदमी आवश्यक रहेको धेरै शिक्षा विद्को भनाई छ ।



No comments:

Post a Comment

Gaindakot 1 balmaitri