श्रीधर उपाध्याय
गँैडाकोट । यस पटक असार लागे संगै वर्षा सुरु भयो । वर्षा सुरु भएसंगै नवलपरासीमा किसानहरुले धान रोपाई सुरु गरेका छन् । मनसुनमा भर परेको हाम्रो कृषि क्षेत्र विशेषत ः धान खेती मनसुन सुरु नभई सुरु गर्न हम्मे हम्मे नै पर्दछ । यसै साता गैँडाकोट ६ का चन्द्र प्रसाद सुवेदीले पनि धान रोपे । खेतमा सिंचाईका लागि उति राम्रो व्यवस्था छैन् । “मनसुन सुरु भएको मौका छोपें” उनले भने । सुवेदीले यस पटक आफ्नो खेतमा ‘ राधा ४’ र ‘ ओ आर’ धान रोपेका छन् । यस्तै मनसुन सुरु भएसँगै नवलपरासी दिव्यपुरीका शिव शर्माले पनि धान रोपेका छन् । अघिल्लो वर्ष भन्दा यस पटक चाँडै मनसुन सुरु भएका कारण चाँडै धान रोपेको उनको भनाइ छ । नवलपरासीमा प्रायः जसो किसानले मनसुली धान रोप्ने गरेको भन्दै उनले पनि आफूले यस पटक मनसुली धान रोपेको बताए ।
सिंचाईको लागि उपयुक्त स्रोतको अभाव हुँदा मनसुनमा भर पर्ने कृषि प्रणालीबाट कहिले मुक्ति पाउने होला उनले सुनाए । आइसिआइमोडका अनुसार चितवन भन्दा बढि धानबाली उत्पादन नवलपरासीमा हुने देखिन्छ । तर पनि नवलपरासीमा उपयुक्त सिँचाइको अभाव देखिन्छ यस तर्फ बेलैमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनु आवश्यक छ । नवलपरासीमा अघिल्लो आर्थिक वर्ष करिब १९ लाख मेट्रिक टन धान उत्पादन भएको थियो । नवलपरासी जिल्लामा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको आइसिआइमोडले जनाएको छ । यता जिल्ला कृषि विकास कार्यलय नवलपरासीका बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बढ्दो प्लटीङको समस्याले अहिले ४५ हजार हेक्टर क्षेत्रफलमा मात्र धानबाली हुने गरेको बताए ।